ककनी डाँडालाई ‘रक गार्डेन’ का रुपमा विकास गर्ने तयारी

2020-02-23

खोटाङ - हलेसी तुवाचुङ नगरपालिकाले ककनी डाँडालाई ‘रक गार्डेन’ का रुपमा विकास गर्ने भएको छ। त्रि–धार्मिकस्थल हलेसी नजिकै रहेको ककनी डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ढुंगे बगैंचा बनाउने तयारी गरिएको हो। विभिन्न आकृतिका ढुंगैढुंगाले ढाकिएको डाँडालाई ‘रक गार्डेन’ का रुपमा विकास गर्न डिपिआरको काम अन्तिम चरणमा पु-याइएको मेयर इवन राईले बताए।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने ककनी डाँडाको करिब एक सय ६० रोपनी सरकारी जग्गा चट्टानै–चट्टानले ढाकिएको छ। सिंगो डाँडामा खोपेर बनाएजस्ता चुच्चो–चुच्चो परेका ढुंगा छन्। त्यसमध्ये ५६ रोपनी जग्गाभित्रको चट्टानलाई समेटेर ‘रक गार्डेन’ बनाउने लक्ष्य राखिएको छ। प्राकृतिक चट्टानले बनेको ककनी डाँडालाई ढुंगे बगैंचा बनाउन लागिएको जानकारी मेयर राईले दिए। हलेसीमा आउने पर्यटकलाई घुमफिर गराउने र केही दिन अलमल्याउने उपायको खोजीमा ककनी डाँडामा ढुंगे बगैंचा बनाउने परिकल्पना गरिएको उनले बताए। डाँडामा रहेका चट्टानी ढुंगालाई नबिगारी÷नचलाई सजाइनेछ। ‘ककनीडाँडामा सुन्दर र कलात्मक आकृतिका ढुंगा छन्, हामी ती ढुंगा सजाएर बगैंचाको रुप दिनेछौं, मेयर राईले भने, ‘यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने हाम्रो लक्ष्य हो।’

ककनीडाँडा उत्तरतर्फका हिमशृंखला र वरपरका दृश्यावलोकनका लागि चर्चित छ। झट्ट हेर्दा बालुवा सिमेन्टले बनाएजस्ता सेतो रङका ढुंगाले ढाकिएको ककनी डाँडा वारपार गर्न ३० मिनेटदेखि ४५ मिनेट लाग्छ। मध्यपहाडी लोकमार्गबाट पैदल उकालो करिब ३० मिनेटमा पुग्न सकिने सो ठाउँमा स्थानीय घुमफिर र वनभोज जाने गरेका छन्। ढुंगे बगैंचा बनाएपछि सो डाँडालाई ‘चुरेडाँडा रक गार्डेन’ नामाकरण गर्ने प्रस्ताव गरिएको छ।

ककनी डाँडालाई आकर्षक स्थल बनाउन प्राकृतिक रुपमै सजिसजाउ ढुंगालाई थप सजाउने, ढुंगाका बीचबीचमा सुहाउँदा फूल रोप्ने, ठाउँ–ठाउँमा ढुंगे गेट बनाउने, ढुंगे धारा निर्माण गर्ने, ढुंगा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, ढ्ुंगामा कालो, सेतो र रातो रङ मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला संस्कृति झल्कने गरी ढुंगाको सजावट गर्ने तयारी छ।

यस्तै, सगरमाथालगायत हिमालको तस्बिर खिच्न, दृश्यावलोकन गर्न र रम्नका लागि ढुंगाकै स–साना गेट निर्माण गर्ने, चारैतिर तारबार तथा पर्खाल लगाउने, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुंगाकै कलात्मक सिँढी निर्माण गर्ने हिसाबले डिपिआरको काम भइरहेको मेयर राईले बताए। ढुंगे बगैंचामा विद्युत, पिउने पानी, विश्रामस्थल, केबलकार, भोजनगृहको पनि व्यवस्था गरिनेछ। ककनी डाँडाकै एकातर्फको भीरमा ‘रक क्लाइबिङ’ को सम्भावना छ। आवश्यक संरचना निर्माण गर्न सके ककनी डाँडालाई पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीय रेवती केसीले बताए। भस्मासुरले महादेवलाई लखेट्दा ककनी डाँडामा महादेवको पाइला परेपछि कलात्मक ढुंगा निस्किएको किंवदन्ती छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ