नेकपा सदस्यता नवीकरण तीन महिनाभित्र गर्नुपर्ने

2020-01-22

काठमाडौं - आगामी ०७७ चैत मसान्तभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव पार्टीमा गरेको सत्तारुढ दल नेकपाले संगठित सदस्यता नवीकरण र अभिलेखीकरणका लागि तीनमहिने कार्यविधि तय गरेको छ।

केन्द्रीय संगठन विभागले बनाएको कार्यविधिलाई सचिवालयले अनुमोदन गरेर कार्यान्वयन गर्न पठाएको नेकपाले जनाएको छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको हस्ताक्षरपछि पार्टीले ‘विशेष परिपत्र ७’ मार्फत् कार्यविधि पार्टी पंक्तिमा पठाएको छ। केन्द्रीय कार्यालयसँग संगठित सदस्यको आधिकारिक अभिलेख छैन। साबिक एमाले र माओवादी केन्द्रको एकतायता नेकपाले संगठित सदस्यता नवीकरण गर्न सकेको छैन।

अब उसले तत्कालीन एमाले र माओवादीमध्ये साबिक कुन पार्टीको संगठित सदस्य रहेको पहिचानसमेत खुल्ने अभिलेख राख्ने भएको छ। एकताको अघिल्लो दिन (०७५ जेठ २ गते) सम्मको साबिक दुवै पार्टीका सदस्यलाई सदस्यता नवीकरण गर्न उसले तीन महिना समय तोकेको छ। अभिलेख सम्बन्धित भूगोलका प्रदेश र विशेष प्रदेश कमिटीले जिल्ला, गाउँ, नगर कमिटीलाई माघ मसान्तसम्म उपलब्ध गराउनुपर्ने परिपत्रमा उल्लेख छ। ओली–दाहालले गरेको सर्कुलरमा भनिएको छ, ‘०७५ जेठ २ सम्म कायम पार्टी सदस्यलाई संगठित सदस्य मानी ०७६ चैत मसान्तभित्र संगठित सदस्यता नवीकरण गरिसक्नुपर्ने छ।’

नवीकरण गराउन कार्यदल
नेकपाले गाउँ तहसम्मै सदस्यता नवीकरण गर्न कार्यदल बनाएर खटाउने भएको छ। गाउँपालिकामा केन्द्र रहेको ठाउँमा र नगरपालिकामा वडाको केन्द्र रहेको ठाउँमा सम्पर्क कार्यालय राखी कार्यदलले सदस्यको अभिलेख राख्ने र नवीकरणका लागि आवश्यक कागजात जुटाउने आन्तरिक सर्कुलरमा उल्लेख छ।

गाउँपालिका र नगरपालिकामा जाने कार्यदल जिल्ला कमिटीको सचिवालय सदस्यको संयोजकत्वमा ५ सदस्यीय हुने। विशेष कमिटीमा रहेकाहरूको हकमा कमिटीले तोकेको स्थानमा विशेष जिल्ला कमिटीको सचिवालय सदस्यकै संयोजकत्वको ५ सदस्यीय कार्यदल परिचालन गर्ने तयारी नेकपाको छ।

आफैं उपस्थित हुनुपर्ने
सदस्यता नवीकरणका लागि गएका कार्यदल सदस्य भएको ठाउँमा सदस्य आफैं उपस्थित भएर आवश्यक कागजात बुझाउनुपर्नेछ। उनीहरूले सदस्यता शुल्क तिरेको रसिद निवेदनसहित सदस्य स्वयं उपस्थित हुनुपर्ने परिपत्रमा उल्लेख छ।

नवीकरणका लागि जाने कार्यदलले केन्द्रीय संगठन विभागले दिएको विवरणमा नामावली समावेश भएको संगठित सदस्यको निवेदन मात्र दर्ता गर्ने र निवेदकमध्ये योग्य ठहरिएकाको सदस्यता नवीकरण गर्न प्रस्ताव तयार पार्ने र जिल्ला कमिटी/विशेष कमिटीले त्यसका आधारमा संगठित सदस्यता नवीकरण निर्णय गर्ने कार्यविधि बनाइएको छ।

केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, कम्युनिस्ट ज्येष्ठ मञ्च, केन्द्रीय विभागहरू र केन्द्रीय कार्यालयका पदाधिकारी तथा सदस्यहरूको सदस्यता नवीकरण भने केन्द्रकै संगठन विभागको कार्यालयले गर्नेछ। नवीकरण गरेका संगठित सदस्यको अभिलेखको छापा प्रति र डिजिटल प्रति तयार गर्ने र उनीहरूलाई सदस्यता नम्बर उपलब्ध गराउने योजना पनि नेकपाको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ