अग्निलाई सभामुख बनाउन गौतम निवासमा के-के भएको थियो सहमति ?

2020-01-20

काठमाडौं - सभामुखका लागि नेकपाभित्रको रस्साकस्सी सकिएको छ। सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटालाई सभामुखका रुपमा अघि सार्ने नेकपा सचिवालयको निर्णयसँगै सभामुखको विवाद सकिएको हो।

पूर्व एमाले, वर्तमान उपसभामुख र पूर्व माओवादी पक्षबीचको लामो शक्ति संघर्षपश्चात् सापकोटा सभामुख पद हासिल गर्न सफल भएका हुन्। पूर्व एमालेकै आफूअनुकुल व्यक्तिलाई संसदको जिम्मा लगाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाले नेकपामा सभामुखको उम्मेदवार टुंगो लगाउन सकस परेको थियो।

तर, पूर्व माओवादी नेताहरुको निरन्तर खबरदारीका कारण अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको चाहनाअनुसार निर्णय लिन अस्वीकार गरिरहे। पार्टी एकीकरणको समयमा शक्ति सन्तुलन मिलाउँदा सरकारको नेतृत्व पूर्व एमाले र संसदको नेतृत्व पूर्व माओवादीले गर्ने सहमति भएको थियो।

प्रधानमन्त्री आलोपालो गर्दा सभामुख पनि छाड्ने सहमति त्यो समय भएको थियो। तर प्रधानमन्त्री पूरै कार्यकाल ओलीलाई दिने भन्ने भएपछि सभामुख पूर्व माओवादीकै हुनुपर्ने अडान प्रचण्डले राखेका थिए ।

यहीकारण प्रधानमन्त्री ओलीले प्रचण्डलाई फकाउन लामो प्रयास गरे। नेकपा नेता सुवास नेम्वाङलाई उपयुक्त जिम्मेवारी दिनुपर्ने भएकाले सभामुखका लागि अनुभवी र योग्य रहेको बताएका थिए। पार्टी एक भइसकेकाले पूर्व एमाले वा माओवादी भन्ने छाडेर नेम्वाङलाई जिम्मेवारी दिँदा उपयुक्त हुने ओलीको भनाइ थियो। नेम्वाङ सभामुख हुँदा आफूलाई काम गर्न सहज हुने भन्दै उनले शक्ति सन्तुलन अरु विकल्पबाट गर्न सकिने बताइरहे। प्रचण्डले अघि सारेका सापकोटालाई ज्यान मुद्दाको आरोपसमेत लागेकाले विवादित हुने भन्दै उनलाई बनाउन नहुने ओलीनिकट एमाले नेताहरुको दबाब थियो।

सापकोटालाई सभामुखको उम्मेदवार बनाउँदा पार्टीकै साख गुम्ने भएकाले राजी नहुन एमाले नेताहरुले प्रधानमन्त्री ओलीलाई सुझाइरहे। प्रचण्ड भने कृष्णबहादुर महरालाई बलात्कार मुद्दा लागेर सभामुख पद रिक्त भएदेखि नै सापकोटालाई सभामुख बनाउने तयारीमा लागेका थिए। प्रचण्डले सापकोटालाई ‘ग्रिन सिग्नल’ समेत दिइसकेका थिए।

प्रचण्डले सभामुख बनाउन चाहेका सापकोटाविरुद्ध संवैधानिक इजालाशमा मुद्दा छ। उक्त मुद्दा मिलाउनसमेत केही समय लाग्यो। २०७५ फागुन ३ गतेदेखि हेर्दा हेर्दैमा रहेको मुद्दालाई पुस २५ गते पेशी सार्न सफल भए। आगामी २२ गतेका लागि पेशी तोकिएको छ। तर, त्यतिन्जेल सापकोटा सभामुख निर्वाचित भएर संसद चलाइरहेका हुनेछन्। उनी सभामुखको चर्चामा रहेका बेला मुद्दा फैसला गर्दा अप्ठ्यारो पर्ने भएकाले पेशी सारिएको थियो।

यता मुद्दा मिलाएपछि प्रचण्ड सापकोटालाई लिएर सिन्धुपाल्चोक पुगेका थिए। महत्वपूर्ण निर्णय लिनुअघि वा धेरै तनाव हुँदा सापकोटासँगै प्रचण्ड सिन्धुपाल्चोक जाने गरेको २०६३ सालेदेखि नै हो। यसपल्ट सापकोटाकै विषयमा निर्णय लिन उनीसँगै त्यहाँ पुगेका थिए। अन्य समय सुकुटे बिचमा बस्ने अध्यक्ष प्रचण्ड चौतारा साँगाचोकगढी नगरपालिका ९ कदमबासका स्थानीय नेकपा कार्यकर्ता बलराम गिरीको घरमा बसेका हुन्।

सभामुख कसलाई बनाउने भन्ने विषयमा तीव्र छलफल भइरहेका बेला सापकोटालाई लिएर त्यहाँ पुग्नुको विशेष अर्थ थियो। उनी सापकोटालाई विश्वस्त बनाउन चाहन्थे र हरेक दिन दबाब दिन आइरहेका पूर्व माओवादी नेताहरुलाई आफू नगलेको संकेत दिन उनी त्यहाँ पुगेका थिए। सापकोटाका विषयमा निर्णय लिन गएकाले स्थानीय नेता र कार्यकर्तालाई समेत प्रचण्डले भेटेनन्।

सापकोटालाई उम्मेदवार बनाएर अर्का अध्यक्ष ओलीसँग छलफल गर्दा सहमति जुटाउन मुस्किल परेपछि उनले अर्को चाल चले। आफूहरुबीच सहमति नहुँदा विषयले सचिवालयमा प्रवेश गर्ने प्रचण्डको अनुमान थियो। पूर्व एमाले–माओवादी हुँदा सचिवालयमा आफ्नो पक्षमा बहुमत जुटाउन उनलाई सहज थिएन।

आफ्नो पक्षमा माहोल बनाउन प्रचण्डले प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको सहारा लिए। बामदेव निवासमा ओली इतरका नेताहरूको गोप्य भेला भयो। भैंसेपाटीस्थित गौतम निवासमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए। सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा रहेकाले उपस्थित भएनन् । उक्त बैठकमा सभामुख आफूले नछाड्ने र यो विषय सचिवालयमा प्रवेश गर्न आफूलाई सघाउनु पर्ने अध्यक्ष प्रचण्डको धारणा थियो।

सभामुखका विषयमा एमालेकै अन्य शीर्ष नेतासँग प्रधानमन्त्री ओलीले कुनै परामर्श गरेका थिएनन्। असन्तुष्ट रहेका माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमले पूर्व माओवादीले सभामुख प्राप्त गर्नु स्वाभाविक रहेको बताएर सकारात्मक संकेत गरे। यो भेलाबाट प्रचण्डलाई थप आत्मविश्वास बढ्यो । उनले प्रधानमन्त्री ओलीसँगको भेटमा दाबेदारको नाम सचिवालयमा लगेर बहुमतबाट पारित गर्न सकिने संकेत गरे। अध्यक्ष प्रचण्डलाई पूर्व एमालेका नेताहरुले समेत साथ दिने अवस्था निर्माण भइरहेको प्रधानमन्त्री ओलीले चाल पाइसकेका थिए। उनी सभामुख पूर्व माओवादीलाई नै दिने विषयमा लचिलो भए।

तर, अध्यक्ष प्रचण्डले अघि सारेका अग्नि सापकोटाको नाममा उनी सहमत हुन सकेनन्। सापकोटाविरुद्ध संवैधानिक इजालासमा मुद्दा रहेकोमात्रै होइन, आफूलाई संसदमा सहयोग रहने कुरामा समेत अविश्वास उनले व्यक्त गरेका थिए। प्रचण्डले सापकोटाबाट प्रधानमन्त्रीलाई अप्ठ्यारो नपर्ने विश्वास दिलाए। अप्ठ्यारो पर्न सक्ने विषयमा सभामुखका उम्मेदवारलाई राखेर कुरा गर्न सकिने बताएपछि ओली सापकोटालाई सभामुख स्वीकार्न तयार भएका हुन्।

पूर्व एमालेकै नेताहरुका कारण आफू सभामुख पाउन सफल भएको अध्यक्ष प्रचण्डलाई महसुस भएको छ । त्यसैले सापकोटालाई सभामुख बनाउन अध्यक्ष ओलीलाई राजी गराएपछि प्रचण्ड सिधै कोटेश्वरस्थित माधव नेपालको घर पुगेका थिए। उनले सापकोटा नै सभामुखको उम्मेदवारका रुपमा स्वीकार्न प्रधानमन्त्री राजी भएको जानकारी गराए। साथै पार्टीभित्रका शक्ति सन्तुलनका अन्य विषयमा समेत कुराकानी गरेका छन्।

 

 

नेपाल्लाइभबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ