प्रधानमन्त्री आइतबारबाट नियमित काममा सक्रिय हुने

2019-09-07

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको उपचारपछि शुक्रबार स्वदेश फर्किएका छन् । स्वास्थ्य अवस्था सामान्य रहेकाले आइतबारबाट प्रधानमन्त्री नियमित काममा सक्रिय हुने उनको सचिवालयले जनाएको छ । फर्केलगत्तै ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग पार्टी र सरकारका कामबारे जानकारी लिएका छन् ।

थाई एयरवेजको नियमित उडानबाट अपराह्न १२ बजे आइपुगेका प्रधानमन्त्री ओलीलाई कार्यबाहक प्रधानमन्त्री पोखरेल, सभामुख कृष्णबहादुर महरासहित मन्त्री, सरकारका उच्चपदस्थ अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्रीको स्वागतका लागि सत्तारुढ नेकपाका नेता–कार्यकर्ताको ठूलो समूह विमानस्थल पुगेको थियो । विमानस्थलमा स्वागत ग्रहण गरेर उनी सीधै सरकारी निवास बालुवाटार प्रस्थान गरे । विदेशबाट फर्किंदा पत्रकारहरूसँग कुराकानी गर्ने प्रचलनविपरीत प्रधानमन्त्री ओलीले कुराकानी गरेनन् ।

प्रधानमन्त्रीसँगै नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, श्रीमती राधिका शाक्यसहितको टोली पनि स्वदेश फर्किएको छ । बालुवाटार पुगेको केही समयपछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रचण्डसँग छुट्टै भेटवार्ता गरे । प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर पछिल्लो राजनीतिक घटनाक्रमबारे रिपोर्टिङ गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । त्यस्तै, प्रधानमन्त्री ओलीले कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलबाट पनि मुलुकको पछिल्लो अवस्थाको ब्रिफिङ लिएका छन् । सिंगापुर प्रस्थान गर्नुअघि बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले बैठक बोलाएर निर्णय गर्न सक्नेगरी दोस्रो वरीयताका अध्यक्ष प्रचण्डलाई जिम्मेवारी तोेकेका थिए ।

आइतबारबाटै नियमित काम
कुन्दन अर्याल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार
चिकित्सकहरूले शनिबारसम्म धपेडी हुने गरी काम नगर्न, नियमित भेटघाट कम गरेर केही आराम गर्न सुझाब दिनुभएको छ । तर, आइतबारबाट उहाँ कार्यतालिकाअनुसार सक्रिय हुनुहुनेछ । आइतबारपछि चिनियाँ विदेशमन्त्रीसँगको भेटवार्तादेखि पेट्रोलियम पाइपलाइन उद्घाटनसम्बन्धी तयारी बैठकलगायतमा उहाँ सहभागी बन्नुहुनेछ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित काममा सक्रिय हुन सक्ने अवस्था रहेको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले जानकारी दिएकी छिन् । ‘उहाँको शरीरमा बढी मात्रामा रहेको ‘एन्टिबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया एनयुएचमा पूरा भएको छ,’ डा. सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल उहाँको अवस्था सामान्य छ र उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ ।’ मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली ५ भदौमा सिंगापुर गएका थिए । उनले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटल (एनयुएच)मा उपचार गराएका थिए ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ