2019-08-30 |
के हो डेंगु ?
यो लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य सरुवा रोग हो ।
एडिस एजिप्टाई र एलबोपिक्टर्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट मात्रै यो रोग सर्छ ।
जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ ।
यो लामखुट्टेले सामान्यतः उज्यालोमा टोक्छ ।
संक्रमित लामखुट्टेका सबै अन्डा संक्रमित नै हुन्छन्, यसको अन्डा पानीविना पनि महिनौँसम्म जीवित रहन सक्छ ।
हरेक अन्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोक्दा संक्रमण हुन्छ ।
पोथी जातको लामखुट्टेलाई फुल पार्न प्रचुर मात्रामा प्रोटिन आवश्यक पर्छ । त्यसैले पोथी लामखुट्टेले मात्रै रगत चुस्छ । भाले लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवनयापन गर्दछ ।
एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुन्छ ।
एउटा लामखुट्टेले आफ्नो जीवनभर करिब पाँच सयदेखि हजरावटासम्म अन्डा पार्छ ।
डेंगु भाइरस चार प्रजातिका
डेंगु भाइरस चार प्रजातिको हुन्छ– डेन १, डेन २, डेन ३ र डेन ४ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर, अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।
डेंगु लागेको थाहा पाउने तरिका
संक्रमणकाल तीनदेखि दश दिनसम्मको हुन्छ ।
१०२ डिग्री देखि १०३ डिग्रीसम्मको उच्च ज्वरो आउँछ ।
टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने, रातोरातो बिमिरा देखिने हुन्छ ।
सामान्यतया ज्वरो आएको तीनदेखि पाँच दिनपछि देखा पर्दछ ।
विश्वव्यापी अवस्था
केही दशकदेखि विश्वभर नै डेंगुको संक्रमण अत्यधिक रूपमा बढ्दै गइरहेको छ । ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइएको छ ।
विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा छन् । एक सय २८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिस यो रोगको जोखिमको क्षेत्रमा बसोवास गर्छन् ।
प्रत्येक वर्ष झन्डै ३९ करोड मानिसमा डेंगुको संक्रमण हुनाका साथै २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।
नेपालमा डेंगु
सन् २००४ मा झापामा भेटिएको पहिलो बिरामी (विदेशी) हुन् ।
सन् २००६ मा तराई र भित्रीमधेसका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए ।
सन् २०१० मा चितवन, रुपन्देही, नवलपरासीलगायत जिल्लामा डेंगु फैलिएको थियो । यी जिल्लामा सन् २०१६, २०१७ र १८ मा पनि डेंगु फैलिएको थियो ।
सन् २०१९ मा सुनसरी, मोरङ, झापा, चितवन, कास्की र मकवानपुरमा महामारीका रूपमा फैलिएकोमा सुनसरीमा मात्रै तीन हजार दुई सय ६६ बिरामी भेटिएका थिए । यस वर्ष ११ भदौसम्मको तथ्यांकअनुसार चार हजार नौ सय ६२ बिरामी भेटिएका छन् ।
रोकथामका उपाय
पानी जम्न सक्ने भाँडाहरू जस्तै : गमला, फूलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रम, गाडीको काम नलाग्ने टायरमा पानी जम्न नदिने ।
पानीका ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने ।
कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।
फूलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुईपटक फेर्ने ।
एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो पूरा बाहुला भएको वा पूरै शरीर ढाक्ने लुगा लगाउने ।
सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने । साना केटाकेटीलाई जुनसुकै समयमा झुलभित्रै सुताउने । लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनुपर्छ ।
चितवन - कोरोनाको संक्रमण बढ्दै गर्दा संक्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्छ। समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन्। कोरोना संक्रमणका ...
एजेन्सी - बेलायतमा कोभिड–१९ विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ। बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले बिहीबारदेखि कोभिड-१९ विरुद्धको नयाँ खोप परीक्षण सुरु गरेको हो। युरोपकै ...
एजेन्सी - चीनमा देखा परेकाे काेराेना भाइसका कारण मृत्यु हुनेकाे संख्या १ हजार १ सय १३ पुगेकाे छ। याे भाइरसबाट चीनमा मंगलबारसम्म ४४ हजार ६ ...