कम्मर किन दुख्छ ? ध्यान दिनुहोस यी कुराहरुमा !

2019-05-11

भाइबहिनी हो ! हाम्रो कम्मर (ढाड)को लचकताले नै हाम्रो यौवनावस्था कायम गर्छ। जति कम्मरको लचकता हुन्छ त्यति नै शरीर बलियो र लचिलो हुन्छ। कम्मर, ढाड अर्थात् पिठ्यूँ जसलाई हामी मेरुदण्ड भन्छौ, यो शरीरको खम्बा हो।

यसले नै हाम्रो पूरै शरीरलाई सिधा रहन र दायाँबायाँ फर्कन सहयोग गर्छ। त्यसैले कम्मरलाई हमेसा लचिलो राख्नु पर्छ। कम्मरको लचकता कम हुँदै गएपछि शरीरमा समस्या आउँछ। सामान्यतः कम्मर नदुख्ने कमै होलान्। बालकदेखि वृद्धसम्म सबैलाई ढाड÷कम्मर दुखेकै हुन्छ। कम्मर किन दुख्छ भन्ने कुरा गर्नुअघि मेरुदण्डको बनोट बुझ्न जरुरी छ।

मेरुदण्डको बनोट

हाम्रो शरीर हाडका २०६ टुक्रा मिलेर बनेको छ। हाडलाई मासुले ढाकेर शरीर बन्छ। शरीरको मुख्य भाग हो मेरुदण्ड। ३३ वटा हाड मिलेर बनेको हुन्छ मेरुदण्ड। मेरुदण्डका हाडहरूलाई भर्टेब्रा भनिन्छ भने दुई भर्टेब्राबीच कुरकुरे हाड हुन्छ जसलाई डिस्क भनिन्छ। यही मेरुदण्डको बीच भागबाट टाउकोदेखि खुट्टासम्म नशा, स्नायुहरू गएको हुन्छ जसले शरीरका सम्पूर्ण भागबाट समवेदना दिमागमा दिने गर्छ। गर्धनदेखि हिपसम्मको भागलाई मेरुदण्ड भनिन्छ। मेरुदण्डका हाडलाई पाँच भागमा विभाजन गरिन्छ।

सर्भाइकल भर्टेब्रा –टाउकोदेखि मुनि घाँटीसम्मको ७ टुक्रा हाड पर्छ यसमा। यसलाई क्रमशः सिवान्, सिटु, सिथ्री गर्दै नामाकरण गरिन्छ। यस भागको नसा च्यापिएमा गर्धन दुख्ने, काँध, पाखुरादेखि हातका औँलासम्म दुख्ने, झमझम गर्ने हुन्छ। टाउको समेत दुख्ने र गर्धन दायाँबायाँ हल्लाउन नमिल्ने हुन्छ।

थोरासिक भर्टेब्रा–यो छाती पछाडिको भाग हो। यसमा १२ जोडा कंरग हुन्छ। यसलाई क्रमशः टिवान्, टिटु, टिथ्री गर्दैै नामाकरण गरिन्छ। यसमा नसा च्यापिएमा ढाडका पाताहरु दुख्ने हुन्छ। लम्बर भर्टेब्रा–यसमा कम्मरका ५ टुक्रा हाड पर्छन्। यसलाई क्रमशः एलवान्, एलटु, एलथ्रि गरी नामाकरण गरिन्छ। स्याक्रल भर्टेब्रा–कम्मर भन्दा मुनिको पेट पछाडि हुन्छ। यसमा पनि ५ टुक्रा हाड पर्छन्। यसलाई क्रमशः एसवान्, एसटु गरी नामाकरण गरिन्छ।
कोकिजिएल भर्टेब्रा–यो मेरुदण्डको अन्तिम भाग हो। यसमा ४ टुक्रा हाड हुन्छन्।

झुकेर भारी व्याग बोक्नाले, झुकेर पढ्ने तथा लेख्ने गर्नाले, एउटै पोजिसनमा धेरैबेर बस्नाले, निहुरेर वा सुतेर ल्यापटप वा मोबाइल धेरै बेर चलाएमा र बेन्चमा बसेको आदि नमिलेर कम्मर दुख्छ। यति मात्र होइन मोटोपनले पनि नशा च्यापिन्छ।

कम्मरको बनोट
३३ टुक्रे हाड मिलेर बनेको मेरुदण्डको लम्बर भर्टेब्रालाई हामी कम्मर भन्छौं। शरीरको गतिशीलता र लचकता कम्मरको लचकतामा भर पर्छ। कम्मरबाट मुुनि खुट्टाका नसा जाली जस्तै गएका हुन्छन्। जसलाई साइटिक नर्भ भनिन्छ। कम्मर दुख्नु, थाईभन्दा मुनि पैतालासम्म तन्किएर दुख्नु, हिपका जोर्नी दुख्नु, खुट्टा टेक्न नसक्ने गरी दुख्नु, झमझम हुनु, पौंताला पोल्नु यही कम्मरको भागको डिस्कमा दबाब परी नसा च्यापिएर हुन्छ जसलाई हामी साइटिका भन्छौ। जुन भागमा नसा च्यापिन्छ त्यही भागमा दुख्ने हुन्छ।

ढाड तथा कम्मरका समस्या विशेषतः शरीरको विहार नमिलेर हुन्छ भने केही आहार नमिलेर पनि हुन्छ। खाना नमिलेर आएको समस्या खाना मिलाएर ठिक हुन्छ भने विहार नमिलेर आएको समस्यालाई विहार मिलाउनु पर्छ।

कम्मर किन दुख्छ ?
कम्मर दुख्नुको मुख्य कारण खराब विहार नै हो। कम्मरमा असर हुने काम गरेमा, धेरै बेर निहुरेर काम गर्नाले, अगाडि वा पछाडि धेरै झुकेर बस्नाले, खराब पोस्चरका कारणले, सुत्ने, उठ्ने नमिलेका कारणले, भारी सामान उठाउनाले, सकि नसकि भारी व्यायाम गर्नाले, गर्धन झुकाएर बस्ने आदि गर्नाले समस्या आउँछ। हिँडेको, बसेको, उभिएको नमिलेर पनि कम्मर दुख्छ। त्यसैगरी गाडी, मोटरबाइक चलाउँदा निहुरिएर, झुकेर चलाउनाले पनि दुख्छ। साथै खान र पानी नमिलेर पनि दुख्छ।

बालबालिकामा भने झुकेर भारी व्याग बोक्नाले, झुकेर पढ्ने तथा लेख्ने गर्नाले, एउटै पोजिसन धेरैबेर बस्नाले, निहुरेर वा सुतेर ल्यापटप वा मोबाइलमा बेन्चमा बसेको आदि नमिलेर दुख्छ। त्यसैगरी मोटोपनले पनि नसा च्यापिन्छ। त्यसैले उचाइअनुसार शरीरको तौल ठिक ठाउँमा राख्नु पर्छ।

कम्मर कसैको बीच भागमा दुख्छ, कसैको कम्मरको दायाँ भागदेखि दायाँ खुट्टासम्म झमझम गरी दुख्छ। कसैको थाई मुनितिर तन्किएर दुख्छ। यसरी दुखेमा कम्मरमा नसा च्यापिएको हुन्छ। दायाँ भागमा दुखेमा दायाँ भागको नसा च्यापिएको हुन्छ भने बायाँ भाग दुखेमा बायाँतिरको नसा च्यापिएको हुन्छ।

यसलाई बेलैमा समाधान गरेन भने पछि धेरै दुख्ने, खुट्टाले टेक्नै नसक्ने, हिँडडुलसम्म गर्न गाह्रो हुने हुन्छ र शल्यक्रिया गर्नु पर्ने सम्म हुन्छ। त्यसैले स्वस्थ रहन यसलाई हरहमेशा लचिलो र बलियो बनाइराख्नु पर्छ। यसका लागि सबैले उचित आहार र उचित विहार गर्नुपर्छ। हरेक विहान सम्पुर्ण शरीरलाई लचिलो बनाउने व्यायाम गर्नु पर्छ। त्यसैगरी विहान ३० देखि ४५ मिनेट हिँड्न सकिन्छ। निकैबेर काम गरेपछि केही बेर आराममा बस्नु पर्छ।

कम्मर दुख्दा योगआसनले पनि धेरै लाभ गर्छ। कम्मर दुख्दा गर्न मिल्ने आसनहरुः
अर्ध शलभासन–भुइँमा घोप्टो सुत्ने। च्युँडोले भुइ छुवाइराख्ने। दुवै खुट्टा सिधा राख्ने। दुवै हातलाई हिप नजिकै राख्ने। बिस्तारै सास तान्दै बायाँ खुट्टा कम्मरभन्दा मुनिको भाग तनक्क तन्काई करिब एक फिट भुईंबाट उठाउने र मनमनै १ देखि १० अंक गन्ने। त्यसपछि बिस्तारै श्वास छोड्दै खुट्टा भुईंमा राख्ने। ध्यान दिनुपर्ने कुरा खुट्टालाई धेरै उठाउनु हुँदैन, कम्मरभन्दा मुनिको भाग तनक्क तन्काउने प्रयास गर्ने भने श्वास तान्ने र छोड्ने समय मिलाउने। यसरी दायाँ बायाँको खुट्टा क्रमशः दशदश पटक गर्ने।

पूर्ण शलभासन– अर्ध शलभाशन पछि यो आसन गर्ने। अघि जस्तै घोप्टो नै पर्ने। बिस्तारै स्वास तान्दै दुवै खुट्टा कम्मरभन्दा मुनिको सबै भाग तनक्क तन्काई करिब १ फिट उठाउने। मनमनै १० गन्ने र बिस्तारै स्वास छोड्दै खुट्टालाई भुइँमा राख्ने। खुट्टा तन्काउँदा सबै बल पेटमा हुनुपर्छ। यो पनि १० पटक गर्ने।

अश्वासन–कम्मर र ढाडपाता दुख्नेलाई सबैभन्दा लाभदायक आशन हो अश्वासन। यो आसनमा बस्दा ढाड र कम्मरका नशा सिधा हुन्छ। पूर्ण शलभासन गरेपछि यो आसन गर्ने। सिधा उत्तानो सुत्ने। दुवै हात्केलालाई गर्धनमुनि लक गरेर राख्ने। दुवै घुडा खुम्चाउने। दुबै कुइनाले भुइँ छुवाई राख्ने। विस्तारै स्वास छोड्दै दुबै घुँडालाई जोडेर बायाँ र टाउकोलाई दायाँ मोड्ने, मनमनै २० देखि ३० सम्म गन्ने र स्वास तान्दै बीचमा फर्कने र बिस्तारै फेरि श्वास छोड्दै विपरित दिशामा मोड्ने। क्रमशः १०– १० पटक गर्ने।

बद्ध सवासन–यो आराम गर्ने आसन हो। कम्मर दुखेकालाई आराम गर्न सजिलो आसन। उत्तानो परेर सुत्ने। दुवै हातलाई गर्धनमुनि लक गरेर राख्ने। दुवै घुँडालाई खुम्च्याउने र आराममा बस्ने। यसरी आराम गर्दा ढाड पाता, गर्धन र कम्मरका नसा सिधा हुन्छन्। यो आसन जतिबेलामा पनि गर्न सकिन्छ। माथिका आसन सकेपछि करिब ५ देखि १० मिनेट यो आराममा बस्ने।

यी आसन हरेक दिन गरेमा नसा च्यापेर दुख्ने समस्या बिस्तारै कम हुँदै जान्छ। व्यायाम भने हमेशा खाली पेटमै गर्नु पर्छ। यी आसन बिहान उठ्नेबित्तिकै पानी खाएर दिसापिसाब गरेपछि गर्नु उत्तम हुन्छ। चर्को दुखाइमा भने तातोले सेक्न सकिन्छ। आसन गर्दा पनि हट रबर व्यागलाई कपडाले बेरेर कम्मरमा राखेर व्यायाम गरेमा नसा खुल्न मद्दत गर्छ।
धेरै मोटो मान्छेलाई आसन गर्न गाह्रो हुन्छ। त्यसैले पहिला खाना मिलाएर तौल घटाउने र बेलुकी सुत्दा कम्मरमा सेकेर सुत्न सकिन्छ। सेकेर सुत्दा जुन भागमा दुखेको छ त्यो भागबाट नसुत्ने। दायाँ भागमा दुखेको छ भने बायाँ कोल्टो सुत्ने, बायाँ खुट्टा सिधा राख्ने। दुखेको खुट्टालाई खुम्चाएर कम्मरसम्म राख्ने र कम्मरको बीच भागमा सेकेर सुत्ने। तर सेकाइ भने धेरै तातो र पोल्ने हुनु हुँदैन। मन्द तातो हुनुपर्छ।

धेरै पोल्नेले असर गर्छ। त्यसैले रबर व्यागलाई तातो बनाए कपडाले बेरेर मन्द आँचमा सेक्नु पर्छ। सेक्ने काम अरू बेलामा पनि गर्न सकिन्छ। यो बालकदेखि वृद्ध सबैले गर्न सक्छन्। भाइबहिनी हो, यति मात्र गरेर पुग्दैन, जहिले पनि हिँड्दा, बस्दा, सुत्दा, लेख्दा, पढ्दा, उभिँदा जुनसुकै अवस्थामा पनि टाउको, गर्धन, ढाड, कम्मर सिधा र खुकुलो हुनुपर्छ। यसरी ढाड सधैं सिधा खुकुलो राखेमा ढाड र कम्मर सम्बन्धी आउने अधिकांश समस्याबाट मुक्त हुन सकिन्छ। त्यसैले ढाड सिधा राखौं, स्वस्थ बनौं।

नशा च्यापिएर मात्र होइन, बाथ भएर, हड्डी खिइएर, हड्डी कमजोर भएर, कतै ठोक्किएर पनि हाड तथा कम्मर दुख्न सक्छ। त्यसैले विहार सँगै आहार पनि सधैं उचित हुनुपर्छ। खानामा हरिया सागसव्जी र फलहरूको प्रयोग गर्नुपर्छ भने पानी नियमित पिउनु पर्छ।

 

नागरिक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ