गुरुकुल ब्युताउँने सुनीलकाे सपनामा सरकारले देला त साथ ?

2019-02-02

काठमाडौँ - फराकिलो कोठामा नाटक चलिरहेको छ । युवा दर्शकमाझ व्याप्त गहिरो सन्नाटाबीच हातमा फाइल बोकेर नाटक हेरिरहेका अधबैँसे टाढैबाट चिनिन्छन् । झरी थामिएपछिको बिहानजस्तै उनका आँखा सुग्घर र तृप्त देखिन्छन् । गर्दनमा चुल्ठो झारेका उनी नाटकका एकएक पात्रमा आफ्नो गहिरो दृष्टि लगाउँछन् । दृश्य वृद्धाश्रमको छ । नाटकमा वृद्धवृद्धा आ–आफ्नै ढंगले संवाद गरिरहेका छन् । हातमा फाइल बोकेका व्यक्ति बीचबीचमा केही टिपिरहन्छन् । नाटक सकिन्छ । कलाकार आफ्ना कपडा बदल्छन् ।

‘तिमी गइनौ ?’, फाइल बोक्ने व्यक्ति एक युवतीलाई प्रश्न गर्छन् । युवती पुगेर फर्केको जवाफ फर्काउँछिन् । दृश्य रंगकर्मी सुनील पोखरेलको अनामनगरस्थित ‘ज्ञ’ नाटकघरको हो । हामी पुग्दा ‘ज्ञ’ मा १३औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेको नाटक हेरिरहेका थिए, पोखरेल । वृद्धाश्रमको नाटक गर्ने सबै विद्यार्थीलाई उनले वृद्धाश्रम नै पुग्न अह्राएका थिए । अघिल्लोपटक वृद्धाश्रम नपुगेकी विद्यार्थीलाई उनी सोधखोज गरिरहेका थिए । विद्यार्थीले टिपेका पात्रलाई ‘ज्ञ’मा पोखरेल कलाले सिंगार्छन् । दृश्य थपिदिन्छन् । पात्रलाई मजबुत कसरी बनाउने भनेर सुझाब दिन्छन् । पात्र टिप्न उनी विद्यार्थीलाई समाजतर्फ फर्काउँछन् ।

‘नाटकमा तिमीहरूले स्टेजमा बोलेको आवाज दर्शकले सुन्नुपर्छ, एकजना बाहेक कसैले बोलेको मैले सुनिनँ, जोडले बोल्नू’, विद्यार्थीलाई सिकाइरहेका थिए उनी ।
‘डिस्कभर योरसेल्फ’ थेगो प्रयोग गर्ने रंगकर्मी सुनील पोखरेलको प्रिय थेगोचाहिँ कुमार नगरकोटीको ‘हु द हेल केयर’ रहेछ । जीवनका असंख्य घुम्तीमा ‘हु केयर्स’ भन्दै हिँडेका पोखरेलसँग कुरा गर्न उनको ‘मुड’ नै पर्खिनुपर्छ ।

‘म आफ्नो कुरा धेरै गर्दिनँ’, अन्तर्मुखी स्वभावका उनले कुराकानीको सुरुवात नै यसरी गरे । खोटाङमा जन्मिएका सुनील पोखरेलको नजिकको साथी नै एकान्त थियो । एकान्तमा उभिएका उनीसामु संवाद गर्न पुस्तकहरू आइपुगे । हरेकको किशोरकालमा परिचय खोज्दै गरेको एउटा समय हुन्छ । त्यही समय कसैले चुरोट तान्छ, कसैले डकैती गर्छ । कोही बाँसुरी समाउँछ, कोही जुल्फी लर्काउँछ । उनले किशोरकालको परिचय खोज्दै गरेको उमेरको गौँडामै पुस्तक समाए । १५ वर्षको उमेरदेखि पुस्तकमा डुब्न सुरु गरेका पोखरेलको गहिराइतर्फको यात्रा रोकिएको छैन । आफ्ना सबैभन्दा अवसादग्रस्त दिनहरूमा पनि उनले मदिराको प्यालासँगै पुस्तक उठाए ।

लालहिरा र मधुमालतीका तिलस्मी कथाबाट उनको पठनको दुनियाँ सुरु भयो । एक दिन सुनीललाई ‘वीरसिक्का’ भन्ने पुस्तक पढे बहुलाइन्छ भनेर कसैले सुनाइदियो । उनले खोजीखोजी पढे । कसैले इन्द्रजाल पढ्दा बहुलाइन्छ भन्दियो । सुनीलले धुइँपत्ताल खोजेपछि धुजाधुजा भइसकेको इन्द्रजाल भेटियो, त्यसलाई पनि छिचोले ।

वीरसिक्का र इन्द्रजाल पढेका सुनील प्रश्न गर्छन्, ‘बौलाइन्छ भनेका पुस्तक खोजीखोजी पढियो, अहिलेसम्म ठीकै छु जस्तो लाग्छ, नबौलाइएकै त होला ।’ बिल्कुल ठीक छन् सुनील, तर जीवनमा उनले नाटकका लागि भने पटक–पटक ‘पागलपन’ नै प्रस्तुत गरेका छन् । खोटाङबाट परिवार विराटनगर बसाइँ स-यो । साथीहरूको भीडमा हराउने चरित्रका थिएनन्, सुनील । अन्तर्मुखी र आफ्नै लयका । मनमा उठ्ने रहर र तरंगका झिल्का पछ्याउँदै यहाँसम्म आइपुगे । त्यसैले पोखरेलको ‘बोस’ आफूबाहेक कोही छैन ।

केटाकेटी उमेरदेखि नै झन्डै एक्लो र साथीहरूदेखि टाढाको जीवन बिताएका उनका विराटनगरमा दुईजना साथी थिए, रमेश बुढाथोकी र प्रमेश । रमेश त्यसवेला विराटनगरका स्थापित कलाकार थिए । उनलाई सुनीलको पढैया स्वभाव थाहा थियो, एक दिन उनले सुनीललाई नाटक लेखिदिन अनुरोध गरे । त्यसवेला विजय मल्लको पर्खाल भन्ने नाटक कोर्समा थियो ।

सुनीलले पर्खालबाट चोरचार गरेर एउटा नाटक तयार पारेर बुझाइदिए । तर, बद्री अधिकारीका हातमा नाटक परेपछि पोखरेलको चलाखी थाहा भइहाल्यो । बद्री अधिकारी नाटक लेख्थे, निर्देशन गर्थे र अभिनयसमेत गर्थे । अधिकारीले नाटक अस्वीकार गरे, तर सुनीललाई भेट्ने प्रस्ताव पठाए । भेटपछि बद्री अधिकारीले पोखरेललाई नाटकका दौरान नेपथ्यबाट माइकमा बोल्न दिए । पहिलोपटक रंगमञ्चको भूमिका पर्दापछाडि माइकबाट बोलेर सुरु गरेका थिए, सुनीलले । दोस्रोपटक नाटकको सानो भूमिका मिल्यो । उनलाई ‘नाटक जिन्दगी’ले पहिलोपटकमै लठ्यायो । त्यस घटनाको साढे चार दशकपछि पनि सुनील पहिलोपटकजस्तै नाटकको मादकतामा लठ्ठिएका छन् ।

त्यसवेलाको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले गायन, वाद्यवादन र अभिनयका लागि एक वर्षको तालिम खोलेको थियो । बद्री अधिकारी र सुनील आवेदन दिन विराटनगरबाट काठमाडौं आए । यो ०३६ सालको घटना हो । आवेदन दिन आएका उनीहरू काठमाडौंमा हराए । सुनीलको त्यो पहिलो काठमाडौं यात्रा थियो ।
एकेडेमीको परीक्षामा सुनील पास भए, बद्री फेल । सुनीलले प्रज्ञा प्रतिष्ठानको एक वर्षे तालिम लिए । ‘मेरो अधिकांश समय तालिममै बित्थ्यो, कोर्सको परीक्षाका वेला साथीहरूले खबर गर्थे, रातारात परीक्षा दिएर आइए पास भएँ’, उनी सम्झिन्छन् । आइएमा सुनील मनोविज्ञानका विद्यार्थी थिए ।

एक वर्ष तालिम लिएपछि उनले दैनिक ज्यालादारीमा प्रज्ञा प्रतिष्ठानकै नाटक शाखामा काम गर्न थाले । त्यसवेला हरिवंश आचार्य पनि दैनिक ज्यालादारीमै काम गर्थे । दैनिक बीस रुपैँया तलब थियो । ‘शनिबार र बिदाको दिन नै नआओस् जस्तो लाग्थ्यो, बिदाको दिन त तलब पाइन्नथ्यो’, उनी भन्छन् । पहिलो सो राजाले हेर्थे, त्यसपछि मात्रै जनताले । दैनिक ज्यालादारीको कामले उनको सपना पूरा हुँदैनथ्यो । आफैँ नयाँ काम सुरु गर्नुपर्छ भन्ने लागेपछि उनले एकेडेमी छाडे ।

०३८ सालमा पोखरेलसहित बद्री अधिकारी र राजेन्द्र सलभहरूले आरोहण नाट्य समूह स्थापना गरे । आरोहण नाट्य समूहबाट उनीहरूले गरेको पहिलो नाटक ‘प्रतिभा आकाश माग्छे’ हिट भयो । त्यसै वेला सर्वनाम नाटकघर खुल्यो, पोखरेल सर्वनाममा पनि सहभागी भए । सर्वनामले दाबी गर्ने नेपालको पहिलो सडक नाटक ‘हामी वसन्त खोजिरहेछौँ’ को ‘लिड’ रोलमै थिए, पोखरेल । पञ्चायती व्यवस्थाको आलोचना गरिएको त्यो नाटक गणेशमानसिंहको चाक्सीबारीस्थित घरको पटाङ्गिनीमा समेत देखाइएको थियो । गणेशमानसिंह सँगै प्रजातन्त्र पक्षधर नेताहरू कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले नाटक हेरेका थिए ।

डिल्लीबजारपछि नाटक त्रिभुवन विश्वविद्यालयमा देखाइयो । जिरीमा प्रदर्शन गर्न हिँडेको नाटक टोलीको गाडी काभ्रेको पाँचखालमा दुर्घटनामा परेको थियो । त्यही घटनामा घाइते नाट्यकर्मी अर्जुन तिम्सिना जीवनभर शारीरिक रूपमा अशक्त भए । अहिले पनि उनी बैसाखी टेकेर हिँड्छन् । सर्वनामका कलाकारले डिल्लीबजारमा फ्ल्याट लिएका थिए । बसाइ कम्युनजस्तो थियो । केही समय सुनील त्यहीँ बसे ।

नाचघरका ६–७ सय दर्शक अट्ने हलमा एउटा नाटक दुई, तीन महिनासम्म हाउसफुल भएर चल्ने समय थियो, त्यो । नाटकमा सिर्जनशीलता ओरालो लागेको समय पनि त्यही थियो । त्यो वेला नाटक समूह निर्माण हुने र भत्किने शृंखला चलेको थियो । कति समूह फुटपछि पनि टिकिराख्थे, कति विघटन नै हुन्थे । एउटा समूहको नाटक हिट भए बाँकी समूहले त्यसैको नक्कल गरेर अर्को नाटक बनाउँथे ।

४० को दशकको सुरुमै नाटक ओरालो यात्रामा थियो । धेरैलाई लाछ, टेलिभिजन सुरु भएपछि नाटक ओरालो लागेको हो । तर, ०४२ सालमा टेलिभिजन सुरु हुनु दुई–तीन वर्षअघि नै नाटक ओरालो लाग्न थालिसकेको सुनीलको बुझाइ छ । त्यसवेला नाटक ओरालो लाग्नुको एउटा कारण टेलिभिजन भित्रिनु भए पनि पहिलो कारणचाहिँ नाटकमा स्तरीयता र सिर्जनशीलताको कमी भएको बताउँछन्, पोखरेल । ‘नाटकले स्तर कायम गर्न सकेका थिएनन्, असाध्यै नक्कल हुन्थ्यो, त्यसैले चालीसको दशकको सुरुवातबाट नाटक ओरालो लाग्न थालेको थियो,’ उनी भन्छन् । बद्री अधिकारी र सुनील पोखरेल नाटकका संवाद निर्माणमा पोख्त थिए । जस्ताको तस्तै संवाद भन्ने भन्दा पनि परिवेशअनुसार आफैँ त्यहीअनुसारका संवाद निर्माण गर्थे ।

दुई–तीन दिनपछि ‘किङ सो’ गर्नुपर्ने नाटकको अन्तिम सिन नाटककार विजय मल्लले अन्तिम दिन मात्रै दिन्थे । यसो गर्ने मल्लको आदतै थियो । कहिले कोटको खल्तीमा छुटेछ भन्थे, कहिले के बहाना बनाउँथे । हरिहर शर्मा, सुनील र बद्रीले छिटो याद गर्छन्, यिनीहरूलाई नाटक खेल्न दिनुपर्छ भन्थे । डाइलग छिटो याद गर्ने रचनात्मक शैलीका कारण एकेडेमीमा उनलाई नाटक गर्न भ्याइनभ्याइ हुन्थ्यो ।

एक दिन नाटकअघि पोखरातिरका तीर्थ शेरचनले सुनीलको मेकअप गर्दै थिए । मेकअप गर्दै उनी सुनीलसँग कुरा गरिरहेका थिए । गफैगफमा थाहा भयो, शेरचन भारतको विख्यात नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा पढेर नेपाल फर्किएका रहेछन् । सुनीलले चाख दिए, शेरचनले मेकअप गर्दागर्दै एनएसडीका बारे जानेसम्म सुनाए । एनएसडी त गज्जब रै’छ । पढ्न जाने इच्छा जागिहाल्यो । एनएसडीमा ग्य्राजुएसन गरेर, राम्रो सीप सिकेर नाटक गर्न पाए त गज्जब हुन्थ्यो भन्ने लाग्यो उनलाई । शेरचनसँग पोखरेलले एनएसडीको ठेगाना मागे ।

एनएसडीमा फर्म भर्न त्यसवेला २ रुपैयाँ भारु लाग्थ्यो । उनले २ रुपैयाँ भारु खामबन्दी गरेर फर्मका लागि आवेदन पठाए । पहिलो वर्ष फर्म आएन । दोस्रो वर्ष उनले पुनः प्रयास गरे । त्यस वर्ष फर्म आयो । बद्री अधिकारी र सुनील पोखरेलले फर्म भरेर पठाए । भर्ना पाउनका लागि एनएसडीका विभिन्न सर्त थिए, कविता र गीत याद गर्नुपर्ने लगायतका । फर्मसँगै एनएसडीले सर्त पनि पठायो । सक्दो तयारी गरेर उनीहरू दिल्ली गए ।

ट्रेनमा थर्ड क्लासको सिट थियो । उभिनुपर्ने । गोरखपुरमा टिकट काटेका थिए । प्लास्टिकको झोला भिरेर, उभिएर उनीहरू गोरखपुर गए । दुःख गरेर पुगे दिल्ली । रेलवे स्टेसनमा टेम्पोचालकले निर्धारित धर्मशाला पु¥याउनुपर्ने, राष्ट्रपति भवन पु-याइदिए । दिल्लीको मध्यगर्मीमा मध्यरात सुनीलले अन्तर्वार्ता दिए । चारवटा केन्द्रबाट पहिलो अन्तर्वार्तामा पास भएर आएकाहरूसँग उनीहरूको अन्तर्वार्ता थियो । नेपालबाट गएका पोखरेल र अधिकारीको भने त्यो पहिलो अन्तर्वार्ता थियो । दुई–तीन चरणका अन्तर्वार्ता पार गरेपछि नतिजा आयो । पोखरेल पास भए, बद्री अधिकारी त्यहाँ पनि फेल भए ।

पोखरेलले एनएसडीको छात्रवृत्ति मात्र पाएका थिए । अरूले राज्यबाट पनि केही रकम पाएका थिए । एनएसडी पढ्नका लागि विभिन्न देशले स्कलरसिप नै दिन्छन् । अरूले घुम्ने र किताब किन्ने पैसासमेत पाउँथे । अरू देशका सहभागीले मासिक २५ सय छात्रवृत्ति पाउँदा पोखरेलले ३ सय मात्र पाउँथे । त्यस समय तीन सय भारु पर्याप्त थियो । फिल्म हेर्न, किताब किन्न त्यही पैसाले पुग्थ्यो । पछि छात्रवृत्तिको रकम बढेर ३ सय ५० पुगेको थियो ।

एनएसडीमा भर्ना पाउन सरकारी अफिसरको हस्ताक्षर चाहिन्थ्यो । सुनीलको छात्रवृत्तिका लागि हस्ताक्षर गरिदिने कोही थिएन । उम्मेदवार कोर्स छाडेर बीचैमा भाग्यो वा फेल भयो भने तीन वर्षमा दिइने चौध हजार आइसीको ब्याजसहित तिर्छु भनेर जमानी बस्नुपथ्र्यो । कोही नभेटिएपछि निराश भएर उनी भौँतारिँदै रत्नपार्क पुगेका थिए । रत्नपार्कमा मुकेश मल्ल भेटिए । अशेष मल्लका दाजु मुकेश नाम चलेका पेन्टर र समालोचक त थिए नै, शिक्षा मन्त्रालयका अधिकृत पनि थिए । सुनीलले मल्ललाई आफ्नो व्यथा सुनाए ।

मल्लले हस्ताक्षरको प्रबन्ध मिलाइदिने भए । सुनील उनैको पछि लागे । अञ्चलाधीशको कार्यालय रत्नपार्कमै थियो । मल्लले अञ्चलाधीशका सामु सुनीलको जिम्मा लिए, सुनीलले अञ्चलाधीशको हस्ताक्षर पाए । त्यही हस्ताक्षरले उनलाई एनएसडीको बाटो खोलिदियो । कक्षा सुरु भएको १४ दिनपछि सुनील एनएसडी पुगे ।

एनएसडीमा सुनीलकै ब्याचमा थिए, चर्चित कलाकार इरफान खान र उनकी श्रीमती । बिरामी भएर थलिनुअघिसम्म पनि इरफानसँग सुनीलको फोन सम्पर्क भइरहन्थ्यो । प्रज्ञा प्रतिष्ठानका तालिम कक्षा र एनएसडीका कक्षाहरूमा आकाश–पातालको भिन्नता थियो । प्रज्ञामा अनुभवका आधारमा पढाइ हुन्थ्यो, त्यहाँका सुविधासम्पन्न कक्षाकोठामा नाटकका आधुनिक प्रयोगसँग साक्षात्कार गर्दै पढाइन्थ्यो । एनएसडीको लाइब्रेरी भव्य थियो । खोजेका पुस्तक सजिलै पाइन्थे । सुनीलले त्यही लाइब्रेरीबाट किताब चोरेकासमेत छन् ।

त्यसो त उनका घरबाट पनि थुप्रै पुस्तक हराएका छन् । यतिखेर पुस्तक फिर्ता माग्दै फेसबुकमा स्टाटस लेख्नुपर्ने वेला भएको ठट्टा गर्छन् उनी । स्टाटस मनमा तयार छ– ‘मित्रहरू क–कसले पुस्तक लानुभएको छ, कृपया फिर्ता गरिदिनुहोला ।’ उनका साथीले सुनीलबाट विश्व रंगमञ्चको इतिहासबारे सेल्डन चेनीले लेखेको किताब, सेट डिजाइन, निर्देशनसम्बन्धी पुस्तक लगेर फिर्ता गरेका छैनन् । उनी आफैँ पनि ‘नाटकका विद्यार्थीले पढ्नुपर्छ’ भनेर विद्यार्थीलाई पुस्तक दिइरहन्छन् । फिर्ता गर्ने सर्तमा दिएका धेरै पुस्तक फिर्ता आएका छैनन् ।

नाटकलाई लिएर उनको मनमा कहिल्यै द्विविधा थिएन । एनएसडी जानुअघि नै उनले फिल्ममा जान्न भनेर आफैँसँग प्रण गरेका थिए । टार्न नसक्ने अवस्थामा मात्र उनले आक्कलझुक्कल फिल्म खेले । एनएसडीबाट फर्केपछि एकपल्ट उनले फिल्मका लागि अन्तर्वार्ता दिएछन् । त्यसवेला चलचित्र संस्थानले फिल्म बनाउँथ्यो । प्रकाश थापा र चेतन कार्कीले लिएका थिए अन्तर्वार्ता ।

अन्तर्वार्ताअघि उनको अभिनय हेरेका चेतन कार्कीले भने– भाइ, तपाईं पास त हुनुभयो, अभिनय पनि असाध्यै राम्रो गर्नुभयो, तर यो तपाईंको भूतले खाजा खाने उमेर हो, न तपाईंलाई बच्चाको रोल दिन मिल्छ न ठूलो मान्छेको, तपाईं गलत समयमा अन्तर्वार्ता दिन आउनुभयो, अल्लि हुर्किएपछि आउनू ।’ त्यसवेला उनी दुब्लो थिए, दाह्री आएकै थिएन । फुच्चे देखिन्थे ।

चेतन कार्कीले त्यसो भन्दा उनलाई झनक्क रिस उठ्यो । अहिले सम्झिँदा कार्कीले ठीकै गरे भन्ने लाग्छ । कहिलेकाहीँ उनी आफैँले विद्यार्थीलाई ‘बाबु, यो भूतले खाजा खाने उमेर हो’ भन्नुपर्छ । त्यस्तो वेला उनी चेतन कार्कीकै डाइलग दोहो¥याउँछन् । फुच्चे देखिने भएर अहिले पनि उनी हत्तपत्त दाह्रीजुँगा काट्दैनन् । दाह्री काट्यो भने दश वर्ष उमेर घट्छ जस्तो लाग्छ, उनलाई ।

एनएसडीबाट फर्किएपछि सुतिसकेको नाटक बचाउने यात्रा तय गर्ने पागलपन कसरी आयो त ? उनीसँग यो प्रश्नको ठ्याक्कै दिने जवाफ छैन । पोखरेल एनएसडीबाट फर्किएपछि पनि नेपालमा नाटकको स्थिति राम्रो थिएन । उनले फ्रेन्च कल्चर सेन्टरसँग मिलेर स्कापाको दाउपेच भन्ने फ्रेन्च नाटक निर्देशन गरे । नाटक हिट भयो । नाचघरमा करिब दुई महिना हाउसफुल भएर चल्यो । पछि त्यही नाटककै धेरैजसो कलाकार लिएर चतुरेको दाउपेच भन्ने सिरियल बनाए ।

लगातार नाटक गर्ने अवस्था थिएन । फ्रेन्च कल्चर सेन्टरसँगै मिलेर ‘आरोहण शनिबार’ नामबाट हरेक शनिबार नाटक देखाउन थाले । एउटा महिनाको चार शनिबार नेपाली, अर्को महिनाका चार शनिबार विदेशी नाटक देखाए । त्यसका लागि चार सयजना सदस्य बनाएका थिए । एक वर्षपछि त्यो पनि बन्द भयो । ‘छानिएका र ठूलाबडालाई सदस्य बनाएका थियौँ, कसैले त पैसा दिन्थे, कसैले पछि दिउँला है भनेर सदस्य बन्थे । ठूला मान्छेसँग माग्न हामीलाई गाह्रो हुन्थ्यो, उनीहरू बिर्सिन्थे,’ उनी भन्छन् । ‘आरोहण शनिबार’ अघि बढाउन सकेनन् । दुई–तीन वर्षपछि फेरि उनीहरूले ‘आरोहण शनिबार’ भनेर प्रज्ञा प्रतिष्ठानमा नाटक देखाउने कोसिस गरे । त्यसलाई पनि निरन्तरता दिन सकेनन् ।

लगातार असफलता हात परेपछि सुनीलले उनकै शब्दमा ‘विकासे’ काम गर्न थाले । अर्थात् सडक नाटक । सुरुमा सडकमा गु्रप लिएर जान्थे । पछि स्थानीयलाई नै तालिम दिएर सडक नाटक अघि बढाए । त्यही बहानामा उनी पारिश्रमिकसहित नेपालका धेरै जिल्ला घुमे । देशभर नाटक तालिम दिए उनले । दाताको सहयोगमा डकुमेन्ट्री बनाए । त्यसले उनलाई सन्तुष्ट पार्न सकेन । अनि सुरु भयो, गुरुकुल ।

गुरुकुल, जो ढल्यो
रंगकर्मी पशुपति राईले गुरुकुलमा ६ वर्ष बिताइन् । गुरुकुलका दिन सम्झेर उनी अहिले पनि ‘नोस्टाल्जिक’ हुन्छिन् । शिष्य/शिष्या गुरुसँगै बसेर शिक्षा–दीक्षा लिनुपर्ने गुरुकुलीय परम्परामा आधारित थियो, गुरुकुल । शारीरिक व्यायाम गर्ने, कक्षा लिने, नाटक गर्ने सबै काम गुरु सुनील पोखरेलकै उपस्थितिमा हुन्थ्यो । ‘त्यहाँ पूर्ण पारिवारिक वातावरण थियो, खाना खाने र लाइब्रेरीमा बसेर पढ्ने समयबाहेक दैनिक हामी केही न केही काममा व्यस्त हुन्थ्यौँ,’ राई सम्झिन्छिन्,’ ‘कहिलेकाहीँ बानेश्वर हाइटभन्दा बाहिर पनि संसार छ भन्ने नै बिर्सिन्थ्यौँ ।’ विद्यार्थीलाई गुरुकुल आफैँमा पूर्ण संसार थियो । सरसफाइ र रेखदेखका सम्पूर्ण काम शिष्य÷शिष्यालाई भाग लगाइन्थ्यो । शारीरिक व्यायाम र मार्सलआर्टका कक्षापछि नाटकको सैद्धान्तिक विषयमा कक्षा चल्थ्यो । त्यसपछि खानाको समय हुन्थ्यो र खानापछि बिहानको सैद्धान्तिक ज्ञानअनुसारका व्यावहारिक कक्षा चल्थे ।

गुरुकुल सुनीलको सपना थियो । ९ वर्ष टिकेको त्यो सपना बानेश्वर हाइटमा ढल्यो । गुरुकुल ढले पनि सौन्दर्य र कलाका क्षेत्रमा यसले छरेको सुगन्ध ताजै छ । राई फिल्म क्षेत्रमा रंगमञ्चका कलाकारप्रतिको दृष्टिकोण नै फेरिएको बताउँछिन् । ‘फिल्म क्षेत्रमा रंगमञ्चका कलाकारप्रतिको गहिरो विश्वास कायम भयो, यिनीहरू अभिनयमा निखारिएर आएका हुन्छन् भन्ने मान्यता अहिले स्थापित छ,’ उनी भन्छिन् ।

नेपाली फिल्म उद्योगमा नायक, नायिका र खलनायकप्रतिका निश्चित दृष्टिकोणहरू स्थापित थिए/छन् । कलाकारको वर्ण, उचाइ र समुदाय हेरेर नायक वा खलनायक तोक्ने अघोषित परम्परा स्थापित थियो । फिल्म क्षेत्रको यस्तो सौन्दर्यमूल्य तोड्ने जस पनि थिएटर, त्यसमाथि गुरुकुलका कलाकारलाई जान्छ । ‘फिल्ममा यस्ता मात्रै हिरो वा हिरोइन हुन्छन् र त्यस्ता मात्रै खलनायक हुन्छन् भन्ने मान्यताले जरो गाडेको थियो । कसैको वर्ण र समुदाय हेरेर उसको भूमिका निर्धारण गरिन्थ्यो । यस्तो मान्यतालाई थिएटर र त्यसबाट उत्पादन भएका कलाकारले नै भत्काएका हुन्,’ राई भन्छिन् ।

गुरुकुल नाटकघर लिजको जग्गामा थियो । ३६–३७ लाख खर्च गरेर गुरुकुल आफैँले एउटा थिएटर बनाएको थियो । गोपालप्रसाद रिमाल र गोविन्दबहादुर मल्ल गोठालेको सालिक थियो । सालिक बन्दा गोविन्दबहादुर मल्ल गोठाले जिउँदै थिए । सम्झौता अवधि सकिन दुई वर्ष बाँकी थियो । तर, घरधनीले जग्गा बेच्छौँ भन्दै दबाब दिन थाले । ‘मुद्दामामिला गर्दा हामीले नै जित्थ्यौँ, सम्झौताका कागजपत्र बलियो प्रमाणका रूपमा थिए तर मुद्दामामिलातिर लाग्न मन भएन,’ उनी भन्छन् । कवि हृदयका उनले झगडा गरेनन्, जग्गा छाडिदिए ।

जग्गा छाड्नुपरेपछि प्रेम र आदरस्वरूप बनाएका रिमाल र गोठालेको सालिक उठाएर लान सकिन्छ कि भनेर प्रयास गरे । सालिक सिमेन्टको भएकाले क्रेन लाउँदा फुट्ने भयो । त्यतिकै छाडिदिए । ‘जग्गा सम्याउँदा सायद फुट्यो होला,’ सुनीलको स्वर मलिन सुनियो । गुरुकुल ढल्नुको कारण भाडाको जग्गा मात्र थिएन । सुनील व्यवस्थापनलाई अर्को मुख्य कारण मान्छन् । उनी थिए कलाकार, कवि । कमलो मनका । संस्थाको दैनन्दिन व्यवस्थापन चलाउने सीप होस् न अनुभव । ढंगै पुगेन ।

करिब ३० जना नियमित तलब बुझ्ने स्टाफ थिए । अडियो–भिजुअल, क्यामेरा र इडिटिङ सिस्टमका छुट्टाछुट्टै सेक्सन थिए । गुरुकुल अत्याधुनिक थियो । त्यसवेलाको सबैभन्दा महँगो क्यामरा ल्याएको सम्झना सुनीलको मनमा ताजै छ । जब ढल्यो गुरुकुल, टिम छिन्नभिन्न भयो । कोही फिल्ममा गए । कोही टेलिफिल्ममा । कोही टेलिभिजनमा गए । लामो दुःख र साधनाले बनाएको समूह नै भताभुंग भएको थियो । गुरुकुलकै टिमले गरेको अन्तिम नाटक रशोमन हो, जुन मण्डला नाटकघरमा मञ्चन गरिएको थियो ।

गुरुकुल सफलताको उचाइमै रहेका वेला काठमाडौंबाहिर रंगमञ्च विस्तार गर्ने भन्दै सुनीलले आफ्नै सक्रियतामा विराटनगरमा गुरुकुल खोले । १२ कठ्ठा जग्गा नगरपालिकाले दियो । नर्वेजियन नाटकघरले पनि सहयोग गरे । एउटा हल, पाहुनाकोठा, कलाकार बस्ने कोठा, अफिस कोठा र क्यान्टिन बनाए । भवन निर्माणमा उनीहरूले असाध्यै समझ पु-याएर वास्तुकलाको प्रयोग गरे । भवन सिमेन्टेड हो, तर बाहिर माटोले लिपेर थारू बुट्टा कुँदिएको छ ।

मधेस मात्र होइन, काठमाडौंको कला पनि मिसाउनुपर्छ भनेर तीनवटा ढुंगेधारा काठमाडौंबाटै मगाएर राखेका छन् । कीर्तिपुरमा नेवारहरूले परम्परागत रूपले बनाउने बुट्टा हलको प्रवेशद्वारमा सजाइएको छ । काठमाडौं र मधेसको वास्तुकलालाई मिसाउने लक्ष्यका साथ त्यसो गरिएको पोखरेल बताउँछन् ।

विराटनगरको गुरुकुलमा सुनील सुत्ने छुट्टै कोठा छ । त्यहाँ अरू कोही पनि सुत्दैन । दुईवटा बेड छन् । आइरहनुपर्छ भनेर सुनीलले विराटनगरमा कोठा बनाएका हुन् । विराटनगरको गुरुकुलका सुरुवाती दुई नाटक उनैले निर्देशन गरेका थिए । अहिले उनका चेलाहरूले त्यसलाई चलाइरहेका छन् । काठमाडौंको गुरुकुल भत्किएपछि थन्काइएका सामान बिग्रिन थाले । त्यसपछि काठमाडौंको गुरुकुलका डेढ ट्रक सामान विराटनगर पठाए, सुनीलले । एकपटक विराटनगरमा बाढी आउँदा पानी कोठामा छि-यो । सुनील त्यसवेला विराटनगरमै थिए ।

पानीले थिएटरका धेरै सामान बिग्रिए । सुनीलले सोचेजस्तो काम विराटनगरमा पनि भएको छैन । नाटक निर्देशन गर्ने कुशलता भएका व्यक्ति धेरै छैनन् । कहिलेकाहीँ बाहिरबाट गएर अरूले नै नाटक प्रदर्शन गर्छन् । गुरुकुल आफैँले नाटक नगरेको धेरै भइसक्यो । तर, पछिल्ला दिनमा सुधार भएको सुनाउँछन् उनी । भारतीय दूतावासको सहयोगमा ठूलो हल बन्दै छ । विराटनगरकै गुरुकुलमा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी गरिरहेका छन् । सुनील विराटनगर नै गएर पूर्ण समर्पणका साथ त्यहाँको गुरुकुललाई निरन्तरता दिन सक्दैनन् । उनी काठमाडौंकै गुरुकुल पुनः स्थापनाको सपनामा बाँचेका छन् ।

गुरुकुल भत्किएपछिका तीन–चार वर्ष सुनील डिप्रेसनमा पुगे । मदिराको शरणमा पुगे । कोठाबाट बाहिरै ननिस्किने । पढेर बस्थे । औपचारिक सभा समारोहमा अक्सर हिँड्दैनन्, पहिल्यैदेखि । गुरुकुल ढलेपछि त औपचारिक कार्यक्रममा हिँड्न बन्दै गरे । कष्टको समय चलिरहेकै थियो, मनमा कताकता आशाका मधुरा बत्ती बल्न थाले । दुःखले नाटक व्युँताएका उनलाई नाट्यकर्मी उत्पादन गर्न मन लाग्यो । ‘डिप्रेसनमा थिएँ, काम गर्दा व्यस्त पनि भइन्छ, अलिअलि पढिन्छ र नाटकलाई सानोतिनो योगदान पनि हुन्छ भन्ने सोचेर ‘ज्ञ’ सुरु गरें,’ उनी भन्छन् । असाधारण कष्टका दिनमा उनले लगातार रंगकर्मी उत्पादन गरे । अहिले ‘ज्ञ’ को १३औँ ब्याच चलिरहेको छ । हरेक ब्याचलाई उनी तीन महिने कोर्स गराउँछन् ।

‘ज्ञ’ मा बसेर उनी गुरुकुल स्थापनाको सपना भने देखिरहन्छन् । एकपटक सरकारले भृकुटीमण्डपमा जग्गा दिने आश्वासन दियो । अन्तिम चिठीमा प्रक्रिया रोकियो । पाँच लाख समाजकल्याण मन्त्रालयमा बुझाए । एक वर्षको जग्गाभाडाबापतको रकम पनि बुझाए । मन्त्रालयले रकम फिर्ता लिन बोलाए पनि अहिलेसम्म गएका छैनन् । उनले भृकुटीमण्डपमा सरकारसँग पाँच रोपनी जग्गा मागेका थिए । जग्गाका लागि उनको कोसिस भने रोकिएको छैन । जग्गा प्रकरणको बेलिविस्तार लगाइसकेपछि एकछिन रोकिए, सुनील । केही बेरपछि सुस्तरी बोले, ‘एकपटक प्रधानमन्त्रीलाई भेट्न खोजिरहेको छु, जग्गा लिन हामीले गरेको संघर्ष उहाँलाई थाहा छ ।’

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


उपत्यकामा कोरोनाका संक्रमित बढे, अस्पतालका आइसियु प्याक

काठमाडौं - आइतबार मात्र देशभर ३ सय ३ जना कोरोना संक्रमित भेटिए। जसमध्ये आधा संक्रमित काठमाडौं उपत्यकामा पुष्टि भएका संक्रमितहरु हुन्। गत २४ घण्टामा काठमाडौंमा

सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु, एक गम्भीर

काठमाडाैं - काठमाडौंबाट दोलखा जाँदै गरेको बसले सिन्धुपाल्चोकको सुकुटेमा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। खाडीचौरबाट काठमाडौं आउँदै गरेको मोटरसाइकललाई सुकुटेमा बसले ठक्कर

ट्राफिक प्रहरीले सुरु गर्‍यो कोरोनाविरूद्ध सावधानी अभियान

काठमाडौं- कोभिड-१९ (कोरोना) भाइरस संक्रमणको दोस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनचेतनामूलक अभियान सुरु गरेको छ। महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको

जनमत पार्टीको अध्यक्षमा सिके राउत

काठमाडौं - जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्वाचित भएका छन्। जनकपुरमा गत शनिबार सुरु भएको प्रथम महाधिवेशनले राउतलाई अध्यक्षमा निर्वाचित गरेको हो। अध्यक्षमा राउतको मात्रै

कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी निर्वाचनमा जानुपर्छ : कोइराला

कास्की - नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍ शेखर कोइरालाले बताएका छन्। नेपाल

मन्त्रिपरिषद बैठक बस्दै, सीसीएमसीको प्रस्तावमाथि छलफल हुने

काठमाडाैं - आज (सोमबार) मन्त्रिपरिषद्‍को नियमित बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ। आजको बैठकमा सीसीएमसीले

आन्तरिक उडानमा कोरोनाको असर न्यून

काठमाडाैं - अन्तरिक हवाई उडानमा कोरोनाको असर न्यून देखिएको छ। पछिल्लो महिनाको हवाई यात्रुको संख्या हेर्ने हो भने आन्तरिक उडान गर्दै आएका एयरलाइन्स कम्पनीले कोरोना