भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा

2024-10-04

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)। भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नुपरेको हो ।

 

सुस्तालाई नेपालबाट टुक्र्याउने भारतको नीतिगत योजना रहेकाले नेपालीलाई दुःख दिनकै लागि आफ्नो क्षेत्रमा तटबन्ध नबनाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनरायण उपाध्यायले दाबी गरे । उनका अनुसार सुस्तालाई भारतले तीनतिरबाट घेरेको छ । भारतले आफ्नो क्षेत्रका नदीमा तटबन्ध नगर्दा बर्सेनि सुस्ता गाउँ डुबान पर्ने गरेको अध्यक्ष उपाध्यायले बताए ।

images

अविरल वर्षा हुँदा नरायणी नदीको पानी सुस्ता गाउँमा पसेपछि सुस्ता डुबानमा परेको हो । भारतले तटबन्ध गर्‍यो भने सुस्तामा बाढी नआउने अध्यक्ष उपाध्यायले बताए । सुस्ताको भूमिको विषयलाई लिएर बारम्बार भारतीय सुरक्षाकर्मीसँग विवाद हुने गरेको छ ।

बाढी तथा डुबानका कारण मानवीय र पशुचौपाया क्षति नभए पनि चामल, गँहु, दाललगायत खाद्य सामग्री क्षति भएको स्थानीय अजाद खानले बताए । त्यस्तै बाढी तथा डुबानका कारण ४० प्रतिशत धानबाली नष्ट भएको मुनसी हरिजनले बताए । उनका अनुसार जबसम्म भारतले आफ्नोतर्फ तटबन्ध गर्दैन, तबसम्म सुस्तावासी बाढीबाट पीडित भइरहन्छन् । उनले भने, 'नेपाल–भारत दुवैले आ–आफ्नोतर्फ तार र ढुङ्गाबाट तटबन्ध गर्न जरुरी छ ।'

सुस्ता गाउँमा बाढी पसेपछि दुई सय घर डुबानमा परेको थियो । नारायणीको बाढी सुरुमा थारू बस्तीमा पसेको सुस्ता बीओपीका सशस्त्र प्रहरी बल नेपालका निरीक्षक मानबहादुर खड्काले बताए । बाढीका कारण मानवीय र पशुचौपाया क्षति नभए पनि फुसको घर भत्किए बस्ने अवस्था नभएको सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिरले बताए । उनका अनुसार सुस्तामा रहेका सशस्त्र र जनपथ प्रहरीको चौकीसमेत डुबानमा परेको थियो ।

सुस्ताका अधिकांश स्थान डुबानमा परेर त्यहाँका स्थानीयवासी आश्रयस्थलमा बास बसेका सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले जानकारी दिए । फुसको घर भत्किएर अहिले पनि बस्ने अवस्था नभएको उनी बताउँछन् ।

सुस्ता गाउँपालिका–५ स्थित सुस्तातर्फ नरायणीमा तारले तटबन्ध गर्नका लागि त्यहाँको स्थानीय तहसँग पहल भइरहेको पश्चिम नवलपरासीकी प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिकी अध्यक्ष स्किम श्रेष्ठले बताए । सरावल गाउँपालिका–५, ६ र ७ मा एक हजार दुई सय बिघामा लगाइएका धान बाली डुबानमा रहेका नवलपरासी कृषि ज्ञान केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले बताए ।-रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ