2022-05-08 |
वैशाख ३० गतेको स्थानीय निकायको चुनावले नेपालमा राजनीतिक माहोल तताएको छ। राजनीतिक दलहरुले गरिरहेका घरदैलो, सामाजिक संजाल र संचार माध्यमहरुमा यसको चर्चाले राजनीतिमा चासो नभएका आम मान्छेले पनि चुनावप्रती चासो दिएको स्थिती छ। अझ सबैले भरतपुर र काठमाडौं महानगरको चुनावी सरगर्मीलाई विशेष चासोका साथ हेरिरहेको देखिन्छ। यसमा आफू पनि एक काठमाडौंबासी भएकाले काठमाडौंको चर्चा गर्न गइरहेको छु। अझ विशेषगरी काठमाडौं उपत्यकाका स्वतन्त्र युवा उम्मेदवार बालेन शाहलाई मत दिने मनस्थितिमा म किन पुगेँ भनी यो लेख मार्फत चर्चा गर्न गइरहेको छु।
नेपालको राजधानी सहर र त्यसमाथि सहरको मुटुमा अवस्थित भएकाले काठमाडौं महानगरको विशेष महिमा छ। देशकै मुख्य प्रशासनिक केन्द्र, संसद भवन, लगायतका धेरै महत्त्वपूर्ण स्थानहरु र अन्य थुप्रै साँस्कृतिक महत्त्वका स्थानहरु समेत यहाँ रहेकाले अझ यसको महत्व छ।तर विगत ५ वर्षमा स्थानीय सरकारले गरेका कुनै पनि कामको अनुभूति यस क्षेत्रका वासिन्दाले गर्न पाएको स्थिती छैन। फोहोर व्यवस्थापनका लागि कुनै नयाँ कदम चालिएन र अझै पनि उही पुरानो शैलीमा परीवर्तन आएको छैन। यसैगरि महानगर क्षेत्रमा सवारीसाधनको पार्किङको समस्या रहेकोमा महानगरले यसको व्यवस्थापन गर्न सकेको छैन। अव्यवस्थित पार्किङको समस्या जहीँतहीँ छ। महानगरक्षेत्रमा रहेका खाली स्थानहरुको सही उपयोग र व्यवस्थापन हुनुपर्नेमा भएको छैन। ती मासिदै गएको स्थिती छ।
सांस्कृतिक महत्त्वको सहरमा भूकम्पले बिथोलेका सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणमा महानगरको गैरजिम्मेवारीपनले ढिलासुस्ती भएको जगजायर छ। धुलो, धुवाँको व्यवस्थापन हुन सकेको छैन, महानगर प्रहरीहरु केबल फुटपाथ व्यापारीहरुको दु:खमा नुन चुक छर्किन व्यस्त देखिन्छन्। यस्तो अवस्थामा एउटा आम मान्छेको नजरबाट हेर्दा काठमाडौं महानगर विगत ५ वर्ष जनप्रतिनिधिविहिन थियो भन्दा फरक नपर्ने स्थिती छ।
यस्तो अवस्थामा हाल आउँदै गरेको चुनावमा बालेन शाहले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी न जेल बसेका छन्, न कसैको नातावाद कृपावादका आधारमा चुनावमा भिड्दैछन्। तर पढेलेखेका छन् र महानगरको मुहार फेर्ने ठोस योजना अगाडी सारेका छन्। हामीले विगत ३ दशकमा धेरै राजनीतिक आन्दोलन देखेका छौँ। त्यस्ता आन्दोलनका लागि नेतृत्व गर्न विशेष साहस र क्षमता आवश्यक पर्ने स्थिती थियो र ती आन्दोलन सफल पार्न नेतृत्व लिएका र आफ्नो जीवनको अमूल्य समय खर्चिएका सम्पूर्णमा मेरो सलाम छ। तर ती राजनीतिक आन्दोलनका उपलब्धीहरु राज्यले के पायो त? कति वटा उत्कृष्ट विश्वविद्यालयहरु खुले, कति रोजगारी शृजना भयो, उत्पादन र उत्पादकत्वमा कति वृद्धि भयो, आयातमा कति कमि भयो र निर्यात कति बढ्यो? सायद यी र यस्तै धेरै प्रश्नहरुको उत्तर खोज्ने समय कुनै राजनीतिक दल र दलका नेतालाई होला। एक पक्षले अर्को पक्षलाई आरोप लगाउनु, यसले भन्दा म राम्रो गर्छु भन्नू राजनीतिमा सामान्य हो। तर हाम्रा राजनीतिक दलहरुले राजनीतिक परीवर्तन त दिए तर देशमा विकासका योजना दिन सकेनन्। अझैपनी कुनै ठोस योजना र ती पूरा गर्न सक्ने आधार दिन नसक्नु राजनीतिक दलहरुको निकम्मापन हो। यसो भन्दै गर्दा अझै पनि हामी पार्टीको झन्डामुनि बसेर यसले चुनाव जिते मैले जागिर पाउँला, कुनै ठेक्का हात पर्ला, कुनै राजनीतिक नियुक्ति पाइएला, कतै सोर्श फोर्श लगाउन पाइएला, कुनै दुई नम्बरी काम गर्न आड मिल्ला भन्ने जस्ता अन्तरनिहित स्वार्थका लागि कसैको पछि लाग्ने गरेका छौँ। तर यस्ता अन्तरनिहित स्वार्थ भन्दा माथी उठेर आफ्नो मत सही व्यक्तीमा दिन जरुरी छ। तर त्यसो गर्ने कहिले??
अहिले देशका धेरै ठूला नेताका छोराछोरी विदेश छन्। धेरै जसो उच्चपदस्थका पनि सन्तान बाहिरै छन्। अनि देश कसका लागि र किन बन्नु पर्ने? राजनीतिक दलले जे सुकै गरे पनि जनताले कानमा तेल हालेर बस्ने, अनि आफ्नो अमूल्य मत पनि कुनै स्वार्थकै लागि दिने हो भने राजनीतिक दलमा आफूले गरेको गल्ती कहिले महसुस हुने? हामीले कहिले महसुस गराउने? मलाई लाग्छ अब बेला आएको छ। सुरुवात काठमाडौंबाट गरौँ। एकपटक यी राजनीतिक दलको आँखा खोल्न समेत स्वतन्त्र उम्मेद्वार "बालेन" अगाडी आउन जरुरी छ। सबैजसो राजनीतिक दलको नेतृत्व हाम्रा हजुरबुवाको उमेर भएकाले गर्ने, अनि जेल-नेल र राजनीतिक परीवर्तनका योगदानका आधारमा हामीले मत तिनैलाई दिइरहने र देश भद्रगोल भएको हेरिरहने कहिले सम्म? पढेलेखेका जति राम्रा देश जाने, श्रम गर्न सक्ने वर्ग विदेशमा पसिना बगाएर नेपालमा परीवारको पेट पाल्नुपर्ने र कमजोर वर्गबाट हामी शाशित भइरहनु पर्ने। यस्तो स्थिती कहिले सम्म?
यसो भनीरहँदा कुनै राजनीतिक पृष्ठभूमी र राजनीतिको अनुभव नभएका, नेपालका नियम/कानुनको ठोस ज्ञान नभएका, कुनै दलको हालसम्म समर्थन नगरेका बालेन शाह एक्लैले चाहेर पनि केही गर्न सक्दैनन् भन्ने यदा कदा सुनिने गरेको छ। यसमा हामीले के बुझ्न जरुरी छ भन्दा नेपालमा प्रचलित ऐन, नियम, कानुन आदिको जानकारी लिन कुनै ठोस अनुभव आवश्यक पर्दैन र बुझ्न चाहे/खोजे बुझ्न सकिन्छ। यसैगरि महानगर कसरी चलाउने अनुभव लिने भनेको महानगरमा काम गरेर मात्र हो। यसैगरी नगरसभामा राजनीतिक दलको समर्थन नभइ कुनै निर्णय र काम गर्न गार्हो पर्छ भन्ने विसयमा चाहिँ राम्रो काम गर्न चाहेमा जनता, संचार माध्यम लगायतका सम्पूर्णले समर्थन गर्छन् भन्ने हामीले विद्युत प्राधिकरणका कुलमान घिसिङलाई हेरे पुग्छ। जब मान्छेको नियत सफा हुन्छ, केही गरौं भन्ने भावना हुन्छ र जनताका लागि केही गर्न खोजिन्छ, तब काठमाडौं जस्तो स्थानमा फरक राजनीतिक विचारका शक्तिले पनि जनताको चासो र आम मान्छेको समर्थनले गर्दा सो कुरामा सहमती जनाउन बाध्य हुन्छन्। यसका साथै हामीले केही गर्छु भनेर आफ्ना योजना र सो पूरा गर्न सक्ने क्षमता प्रदर्शन गरेका बालेनलाई मत नदिए परीवर्तन कसरी आउला र? समाज परीवर्तनका लागि राजनीतिक दलमा सबल व्यक्तिहरु आउन जरुरी छ।
तर हाम्रा राजनीतिक दल सबै पैसा, नातावाद, कृपावाद, प्रलोभनमा बिक्ने र हामीले त्यसैमा रमाउने भए परीवर्तन कसरी हुन्छ? पढेलेखेको, जानेबुझेको, केही गर्न सक्ने क्षमता भएको युवा राजनीतिक नेतृत्वमा आउनुपर्छ। तसर्थ यसपाली मेरो मत केही गर्न सक्ने क्षमता भएको, गर्न सक्ने आधार भएको बालेनलाई।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...