दुई लाख अमेरिकी डलर झोलामा बोकेर हिँडेका युवक पोखराबाट पक्राउ

2021-11-27

पोखरा - मुस्ताङको चराङ-४ का छिरिङ डुन्डुक गुरुङ केही दिनयता काठमाडौं-पोखरा गरिरहेका थिए- कहिले हवाइजहाजमार्फत, कहिले मोटरबाटोबाट। यसरी आउजाउ गर्दा उनले मोटरबाटोबाटै पोखरा आउन सुरक्षित ठाने। काठमाडौंबाट शुक्रबार छुटेको सार्वजनिक माइक्रो बसमा गुरुङ पोखरा प्रस्थान गरे।

माइक्रो बसमा आफू बसेको सिटमुनि गुरुङले एउटा झोला राखे। जहाँ १ लाख ९४ हजार २ सय अमेरिकी डलर प्याकिङ गरेर राखिएको थियो।

गुरुङले यतिका रकम बोकेर माइक्रो बसमा आउँदै गरेको सूचना प्रहरीले शुक्रबार बिहान पायो। पृथ्वी राजमार्गको पोखरा खण्डमा चेकजाँच बढायो। गुरुङ चढेको माइक्रो बस पोखरा प्रवेश गर्नासाथ प्रहरीको चेकजाँचमा पर्‍यो। गुरुङ र उनले बोकेको सबै सामग्री बरामद गर्‍यो।

शुक्रबार दिउँसो साढे तीन बजेतिर पोखराको मझुवाबाट गुरुङलाई पक्राउ गर्न सफल भएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए। ‘हामीले ठूलो परिमाणमा डलर लिएर एक जना आउँदैछन् भनेर सूचना पाएका थियौं,’ उनले भने, ‘नभन्दै काठमाडौंबाट आउँदै गरेको माइक्रो बसबाट १ लाख ९४ हजार २ सय डलरसहित पक्राउ गर्न सफल भयौं।’ उनको झोलामा ५० अमेरिकी डलरको नोट ७२ वटा र १०० डलरको नोट १ हजार ९ सय ६ वटा भेटिएको उनले जानकारी दिए।

गुरुङले बोकेको त्यतिका परिमाण अमेरिकी डलर आजको मूल्यमा नेपालीमा साट्दा २ करोड ३२ लाख ६ हजार ९ सय रुपैयाँ हुन्छ। नेपालमा एक हजार डलरभन्दा धेरै रकम बोक्न राष्ट्र बैंकको अनुमति चाहिन्छ। गुरुङले बोकेका त्यतिका परिमाणको डलरको प्रयोजन अहिलेसम्म खुल्न सकेको छैन। उनले राष्ट्र बैंकसँग डलर लिएर हिँड्न स्वीकृति लिएको कागजात नभेटिएको एसपी थापाले बताए।

अमेरिकी डलर तस्करीका बारेमा प्रारम्भिक अनुसन्धानका क्रममा काठमाडौं र पोखरामा डलर तस्करीको ठूलो सञ्जाल हुन सक्ने प्रहरीले आशंका गरेको छ। ‘एक जना व्यक्तिले मात्र यति धेरै डलर बोकेर हिँड्न सक्दैन, संगठित अपराध भएकाले यसको विस्तृत छानबिन गर्दैछौं,’ एसपी थापाले बताए।

प्रहरीले प्रारम्भिक बयान लिँदा गुरुङले कहाँबाट यति धेरै डलर ल्याएको र कहाँ लैजान लागेको खुलाएका छैनन्। अनुसन्धानमा खटिएका प्रहरीले सुन तस्करीका लागि उक्त डलर प्रयोग गर्न खोजिएको अनुमान गरेका छन्। पोखराका स्थानीय बजारबाट भन्दा पनि अन्तरदेशीय सुन तस्करीका लागि उक्त डलर प्रयोग हुन सक्ने उनीहरूको अनुमान छ। चीन र भारतमा सुन तस्करी गर्न नेपाली रुपैयाँ नचल्ने भएकाले डलरको प्रयोग भएको हुन सक्ने उनीहरूले आशंका गरेका छन्।

उत्तरी गोरखाबाट तिब्बत जोड्ने नाकाबाट बेलाबखत सुन तस्करी पक्राउ पर्ने गरेका छन्। यस्तै, मनाङ र मुस्ताङको बाटोबाट पनि तस्करी हुन सक्ने प्रहरीले आशंका गरेको छ। चीनबाट अवैध रूपमा सुन ल्याएर भारत पठाउन डलरको प्रयोग भएको आशंका गरिएको एसपी थापाले बताए।

प्रारम्भिक बयानका क्रममा गुरुङले यसअघि पनि यसरी नै ठूलो परिमाणमा डलर लिएर पोखरा आउने गरेको स्वीकार गरेका छन्। गुरुङसँग डलर बरामद गरेपछि प्रहरीले नेपाल राष्ट्र बैंकका प्राविधिकलाई परीक्षण गराएका थिए। राष्ट्र बैंकका कर्मचारीले मेसिनमा राखेर बरामद डलर परीक्षण गरेका थिए।

डलरसहित पक्राउ परेका गुरुङको साथबाट प्रहरीले २ वटा मोबाइल, नेपाली नागरिकता र १ थान चेकबुक पनि नियन्त्रणमा लिएको छ। गुरुङलाई थप अनुसन्धान र कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान विभाग काठाडौंको जिम्मा लगाउने प्रहरीको तयारी छ। गुरुङलाई विदेशी मुद्रा विनिमय नियमित गर्ने ऐन–२०१९ र विदेशी मुद्रा अपचलन सम्बन्धी ऐन अनुसार कारबाहीका लागि सिफारिस गर्ने तयारी भएको एसपी थापाले बताए।

राजश्व अनुसन्धान विभागलाई जिम्मा लगाए पनि अवैध रूपमा अमेरिकी डलर ओसारपसारका बारेमा भने प्रहरीले अनुसन्धान जारी राख्ने भएको छ। ‘पोखरा र काठमाडौंमा यसको सञ्जाल जोडिएको देखिन्छ, हामीले अनुसन्धान जारी राखेका छौं,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ