नेपालका विद्रोह र दिलबहादुरलगायतका सहिदहरुको सम्मानबारे !

2021-02-26
लेखक नारायण शर्मा नेकपाका नेता हुन्

देसका उत्पीडित वर्ग, जाति, समुदाय र राष्ट्रको मुक्तिको लागि सुरु भएको महान् जनयुद्धको थालनीको प्रथम चरणमा शहादतको प्रथम प्रकरण सर्वाधिक उत्पीडित वर्ग, जाति र समुदायका एक दलित बालक दिलबहादुर रम्तेलबाट सुरु भएको हो ! न्याय, समानता र स्वतन्त्रताको प्राप्तिको लागि चलाइएको यो मुक्तियुद्धको महाभियानमा बलिदान दिने एक महात्मा हुन् रम्तेल ! विद्यालयमा आफूहरुलाई पढाउँदै गरेका आफ्ना गुरुलाई विद्यालयबाटै प्रहरीले अन्यायपूर्वक पकडेर घिसार्दै लैजान थालेपछि सच्चा न्यायप्रेमी शिष्य भएकाले विद्यार्थीहरुले विरोध, अवरोध र प्रतिरोध गर्नु अत्यन्त स्वाभाविक र एकदमै न्यायपूर्ण कदम हो ! विद्यालयका वालवालिकाको यस्तो न्यायपूर्ण रोदन, क्रन्दन र चित्कारलाई नसुनेर उल्टै गोली बर्षाउनु र नाबालक विद्यार्थी दिलबहादुरको हत्या गर्नुले तत्कालीन संसदीय सत्ताको चरम दमनकारी चरित्र सहजै पुष्टि हुन्छ । यही पुष्टिले नै जनयुद्धको आवश्यकता र औचित्य पनि स्वत: प्रमाणित भयो र जनयुद्ध एक न्यायपूर्ण मुक्तीयुद्धको रुपमा स्थापित र विकसित हुने आधार तय गर्यो । तत्पश्चात् देसमा शोषण-दमन, अन्याय-अत्याचार र उपेक्षा-अपहेलनामा पारिएका देसका सम्पूर्ण शोषित-उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, धर्म, संस्कृतिका जनसमुदायहरुको जनयुद्धप्रति आकर्षण बढ्यो र तीव्र गतिमा सद्भाव, समर्थन, सहयोग र सहभागितामा अत्यधिक वृद्धि हुँदै गयो । यसले गर्दा जनयुद्ध साँच्चिकै जनताको युद्ध सिद्ध भयो र यो सबल, सुदृढ र विजयी पनि हुँदै गयो ! त्यसैले २०५२ साल फागुन १ मा सुरु भएको जनयुद्ध र यसक्रममा फागुन १४ मा पहिलो सहिद बनेका बालक दिलबहादुर रम्तेलको शहादतको विशेष अर्थ र महत्व छ ।

तसर्थ दिलबहादुर धेरै महान् छन्, उनको जाति कर्मठ मात्र नभएर श्रम, सीप, शौर्य र सहादतको लागि समेत सराहनीय छ । त्यसैले उनको सपना स्वीकार्य र साकार्य छ ! त्यसनिम्ति उनी सदा सर्वस्मरणीय र स्तुत्य छन् । हार्दिक श्रद्धाञ्जली र सलाम छ दिलबहादुर रम्तेललाई !

२०५२ फागुन १४ गतेको दिलबहादुरको शहादत त एउटा सुरुवात मात्र हो । यसपछि अर्को दिन १५ गते नै जाजरकोटका दुई युवाहरुलाई गिरफ्तार गरी हत्यागर्ने प्रकृयालाई पनि निरन्तरता दिइयो जो क्रम अद्यापि जारी छ र हालसम्म दसौं हजार वीर-वीराङ्गना हरुको वलिदान भएकोछ ।

यद्यपि यसअघि पनि २०२८ सालमा झापाबाट तत्कालीन नेकपा कोअर्डिनेसन केन्द्र (कोके)को नेतृत्वमा कम्युनिस्ट क्रान्तिकारीहरुद्वारा सुरु गरिएको पहिलो सचेत र संगठीतरुपमा झापाविद्रोह भएको हो । त्यसैका क्रममा गिरफ्तार परेकालाई जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर नेत्र घिमिरे, कृष्ण कुईँकेल, रामनाथ दाहाल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई निर्ममता र नृशंसतापूर्वक पंचे शासकका जल्लादहरुद्वारा सामूहिक हत्या गरिएको थियो !

त्यसो त राणा शासनविरुद्ध सचेत र सामूहिक विद्रोहको पहिलो सानो तर महत्वपूर्ण सुरुवात गोरखामा वि. सं. १९३३ मा लखन थापाद्वारा गरिएको थियो ! त्यसैले तत्कालीन राणाशासक जङ्गबहादुर राणाको आदेश र योजनामा त्यसैबर्ष फागुन २ गते उनको हत्या गरिएको थियो र लखन थापा समग्र नेपाली क्रान्ति र मुक्ति आन्दोलनका सबैभन्दा पहिला सहिद बन्न पुगेका थिए ! तत्पश्चात ६ दसकयता राणाशासनका विरुद्धमा सचेत र संगठित रुपमा व्यापक, विस्तृत र निर्णायक विद्रोह गर्ने क्रममै १९९७ सालमा गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द र धर्मभक्त माथेमाको उच्च शहादत भएको थियो !

तत्कालीन नेकपा माओवादीले आफ्नो नेतृत्वमा २०५२ पछि जनयुद्ध गर्दैगर्दा त्यसक्रमका सहिदहरुलाई सम्मान गर्ने सन्दर्भमा २०५८ सालमा माओवादी विद्रोह र झापाविद्रोह दुवै क्रान्तिकारी विद्रोह भएको नाताले दुवै विद्रोहका विचार र भावना तथा तिनका सहीदहरुको स्वच्छ, उच्च र सत्य मूल्याङ्कन गर्दै फागुन १४ - २१ लाई सहिद सप्ताहको रुपमा मनाउने महत्वपूर्ण निर्णय गरी दुवै आन्दोलनलाई संयोजन गरेको थियो !
स्मरणीय छ कि राणाशासन विरोधी आन्दोलनका क्रममा भएका उपरोक्त ४ सहिदहरुलाई मात्र संसदवादी र पंचे शासकहरुले मान्यता दिएका थिए र हालसम्मका सबै शासकहरुले माघ १० - १६ लाई मात्र सहिद सप्ताहको रुपमा मनाउने औपचारिकता पूरा गर्दै आएका पनि छन् ।
हालसम्म जोजसले जेजस्तो भने वा गरेपनि अब हामीले इतिहासका सबै आन्दोलन र विद्रोहहरुमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुको समग्र र समुचित मूल्यांकन, स्मरण र श्रद्धा गर्दै उहाँहरुको बलिदान र योगदानको उच्च सम्मान गर्नु पर्दछ ! यसनिम्ति प्रारम्भ १९३३ फागुन २ मा भएको लखन थापाको पहिलो सहादत र हालसम्मको उच्च, सशक्त, असंख्य र निर्णायक युद्ध र शहादत भएको हिसाबले दिलबहादुरको सहादत भएको फागुन १४ अनि झापाविद्रोहमा सहादत प्राप्त गरेको ऐतिहासिक दिन फागुन २१ हुनाले यो फागुन महिनालाई सहिद महिना र माघ १०-१६ जहानियाँ हुकुमीशासन विरुद्धको आन्दोलनका सहिद भएको सातालाई सहिद सप्ताह र मदन-आशृत वा वीरेन्द्र अथवा यस्तै उच्च नेतृत्व बलिदान भएको कुनै एक दिनलाई राष्ट्रिय सहमती गरी सहिद दिवसको रुपमा मनाउनु न्यायपूर्ण हुने देखिन्छ ।

जे होस्, जहानियाँ हुकुमी राणाशासन, निर्दलीय निरंकुश पंचेशासन, जनविरोधी र राष्ट्रविरोधी बहुदलीय संसदीय शासनहरुका विरुद्धका संघर्ष, आन्दोलन, विद्रोह र युद्धका क्रममा योजनाबद्ध वा स्वतस्फूर्त रूपमा क्रान्ति र मुक्तिसँग सम्बन्धित नेपाली जनविद्रोहका विविध आयामहरु आए र आजसम्म आउँदा दसौं हजार सर्वोत्तम सन्ततीहरुको गौरवपूर्ण शहादत समेत हुँदै आएको छ ।

शहादतको यो शृङ्खलासँगै यसप्रकारका विद्रोहरुपी जनयुद्ध र जनआन्दोलनहरुमा वेपत्ता हुने, घाइते-अपाङ्ग हुने, जेल-हिरासत पर्ने, भूमिगत जाने, निर्वासित हुने, पेसा-व्यवसायबाट हातधुने र घरपरिवारबाट विस्थापित हुनेहरुको संख्या अनगिन्ती रहेको छ ! यसरी यी आन्दोलन र विद्रोहहरुमा सचेत, संगठित र स्वस्फूर्तरुपमा सहभागी हुने, सहयोग पुराउने र सद्भाव-समर्थन गर्नेहरु असंख्य छन् र तिनको योगदान असीमित नै रहेको छ ।

तर विडम्बना देस र जनताको मुक्ती र प्रगतिको लागि विगत डेढसय वर्षको लामो समयदेखी अनगिन्ती जनसमुदायहरुद्वारा हुँदै आएको संघर्ष, त्याग, तपस्या र बलिदानको योगफल स्वरुप प्राप्त लोकतान्त्रिक गणतन्त्रमा पनि न देस र जनताका राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित न्यूनतम आधारभूत हक-अधिकारका प्रश्नहरु हल भएका छन् न त सहिद, बेपत्ता, घाइते-अपाङ्ग, जेलवन्दी, भूमिगत, निर्वासित, यातनापीडित आदि नेता, कार्यकर्ता र जनताका सपना, जपना र ध्याउन्ना नै साकार भएका छन् !

यतिमात्र होइन, युद्ध र आन्दोलनमा पीडित यो देस र यहाँ दिनप्रतिदिन दीनदुखी बन्दै-बनाइँदै गरिएका जनतालाई एकथरी दरिद्र दमनकारीहरुले दया र दानका पात्रको रुपमा देखाएर मागी खाने भाँडो बनाएको अवस्था छ भने अर्कोथरी दमनकारी दानवहरुले तिनै दीनदुखीहरुलाई देखेर द्रवित भै दान दिई दानी र ज्ञानी बन्ने-बनाउने प्रपन्च गरिरहेको दुखद अवस्था छ ! यसरी आज एकातिर जनताको दैनन्दिन जीवन झन्झन कष्टकर बन्दै गएको छ भने राष्ट्रिय स्वाधीनता, स्वाभिमान, अखन्डता र अस्मिता झन्झन धरापमा पर्दै गएको छ ।
हुँदाहुँदा त आजको यो बहुदलीय लोकतान्त्रिक गणतन्त्र भनिएको व्यवस्था र अवस्थामा पनि अभिव्यक्तिको स्वतन्त्रता, संगठन गर्ने र विरोध गर्नेजस्ता मौलिक अधिकारमाथि समेत नियन्त्रण र निषेध (प्रतिबन्ध) नै गरिएको छ ! यहाँसम्म कि देस र जनताको पक्षमा क्रान्ति र मुक्तिको लागि लाग्ने र लड्ने गरेका र गरिरहेका संघ-संगठन र शक्ति-व्यक्तीहरुलाई दमन, धरपकड र हत्या-आतङ्क मच्चाउने समेत गरिएको दुखद अवस्था छ ।

यसै दुखद विडम्बनापूर्ण स्थिति र अवस्थामा सत्ताधारी पार्टी नेकपाभित्र र पेरिफेरीका शक्ति र व्यक्तिहरुका बिचमा पद, प्रतिष्ठा, पावर र पैसाका लागि लुछाचुंडी र मरिहत्ते नै गर्ने चासो, चिन्तन र चरित्र हावी भएको छ । यसले गर्दा एकातिर देस अराजकता, अन्यौलता, अस्थिरता, असमन्जस र अस्तव्यस्तताको अत्यन्त संकटपूर्ण स्थितिबाट गुजृरहेको छ । देस अहिले एकातिर एउटा भीषण र भयावह चक्रव्यूहमा पसेर त्यसबाट ननिस्कन सक्ने गरी फस्दैछ छ भने अर्कातिर सत्ताधारी कम्युनिस्ट नाउँको ठूलो पार्टी र त्यसका मुख्य नेताहरु नै वैदेसिक शक्तिकेन्द्रको उक्साहटमा परेर फुट र लुटको जालझेल र चलखेलमा व्यस्त छन् । यसरी सच्चा इमान्दार क्रान्तिकारी जनसमुदायहरुका लागि यो देस, देसका राजनीतिक पार्टी र सत्ताको वर्तमान अवस्था र व्यवस्था चोक्टा खान जाँदा झोलमा डुबेर मरेको भनेझैं अथवा नखाउँ भने दिनभरीको सिकार, खाउँभने कान्छाबाउको अनुहार भनेजस्तो परम पीडादायी परिस्थिति बन्न पुगेको छ ।

यसै जटिल, गम्भीर र पीडादायी परिस्थितिबाट देस, जनता र क्रान्तिलाई सही मति र गति दिन भनी केही महिना अघिमात्र मार्क्सवादी एकता अभियान गठन भएको छ । यसले सबै नेपाली जनविद्रोह, जनआन्दोलन र जनयुद्धका समग्र विचार र भावनाहरुको तथा त्यसक्रमका सम्पूर्ण सहीद, वेपत्ता, घाइते, वन्दीलगायतका आम जनता, योद्धा, कार्यकर्ता र नेताहरुको सम्झना र श्रद्धास्वरुप आज एक अन्तर्कृया कार्यक्रम गरेको छ । आशा छ यस्ले आन्दोलनको औचित्य र आवश्यकता तथा मर्म र महत्वबोध गर्ने-गराउने छ र सम्बन्धित सबै रुपान्तरण हुनु-गराउनुपर्ने सन्देस दिनेछ !

यसका अतिरिक्त केही वामपन्थी संघसंस्था र संगठनहरुले गत वर्षदेखि कार्यगत एकताको रुपमा एउटा वृहत् अस्थायी मोर्चा बनाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाका ज्वलन्त सवालहरुलाई लिएर संघर्ष गर्दै आएका छन् ! त्यस्तैगरी चार कम्युनिस्ट क्रान्तिकारी शक्तिहरुले पनि हालै एक रणनीतिक संयुक्त मोर्चा निर्माण गरी देसलाई वर्तमान संकटबाट निकास दिनको लागि आफ्ना कार्यक्रममार्फत एकैसाथ कार्यनीतिक नाराको रुपमा अन्तरिम समीक्षा सभा र अन्तरिम सरकार तथा रणनीतिक नारा वा लक्षका रुपमा जनगणतन्त्रलाई अघिसारेको छ । हाल जनगणतन्त्र सम्भव नहुने स्थितिमा त्योभन्दा मुनिको अस्थायी व्यवस्थाको नारा नदिंदा संघर्ष निर्णायक हुने देखिन्न।

उता वामपन्थीहरुको कार्यगत एकता सुसुप्त छ र करिब करिब यो विघटन (defunct)को सङ्घारमा छ भने विभाजितहरुलाई एकताबद्ध गराउने ठूलो लक्ष लिएको एकता अभियानले पनि आफ्नै एकता सुदृढ गर्न सकेको छैन । बरु,अभियन्ताहरुकै आपसी चिन्तन र कार्यशैलीमा देखिएका आग्रह र पूर्वाग्रह, अहं र जिद्दीजस्ता कमीकमजोरीका कारण मनोमालिन्य, कुण्ठा, कचिङ्गल र प्रतिशोध रुपी रोगले छोएको दुखद अवस्था आएको छ । यसैगरी कान्छो तर सशक्त र दीर्घजीवी ठानिएको रणनीतिक मोर्चा पनि यसको मूल नेतृत्वपंक्तिमा रहेको संकीर्ण र यान्तृक अनि स्वच्छ, ठूलो र पुरानो भएकोमा गरिने गर्व र गौरवको अतिशयोक्तीकरण गर्ने चिन्तन र चरित्रका कारण गठनको पूर्वसन्ध्यामै उछिनापाछिन, आग्रह-दुराग्रह र नियन्त्रण-निषेधको मन्सायबाट मुक्त हुन नसक्दा हालसम्म पनि न यसको विस्तारको लागि कुनै प्रयास भएको छ, न त यस्ले कार्यक्रमहरुको निरन्तरता र वृद्धिलाईनै ध्यानदिएको छ । यसरी यो पनि त्यति शक्तिशाली र प्रभावकारी बन्न सकेको छैन । तथापि आशा गरौं विभिन्न कमीकमजोरीका बावजुद पनि यी मोर्चा र अभियानले ढिलो चाँडो केही न केही सकारात्मक र क्रान्तिकारी सन्देस पक्कै पनि दिन सक्ने छन् !

यही सन्देसलाई अवलम्बन, संरक्षण, सम्बर्द्धन र कार्यान्वयन गर्न सकेमा नै जनयुद्ध, जनआन्दोलन, जनविद्रोह र जनक्रान्तिका सम्पूर्ण शहीद, बेपत्ता, घाइते-अपाङ्ग, बन्दी, मुद्दापीडित, योग्य-अयोग्य बनाइएका योद्धा, उपेक्षित-अपहेलित इमान्दार नेता, कार्यकर्ता र शोषित-पीडित जनता र राष्ट्र आदि सबैको उचित स्मरण, श्रद्धा र सम्मान हुनेछ !




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ