नेपालको तात्कालिक समस्या र दीर्घकालीन समाधानबारे थप कुरा !

2021-01-21
लेखक नारायण शर्मा नेकपाका नेता हुन्

लामो समयको द्वन्द्वपछि द्वन्द्वको स्थायी समाधानको दस्तावेज स्वरुप राष्ट्रिय सहमतिमै नेपालको वर्तमान संविधान बनेको हो र त्यो संविधान समाजवाद उन्मुख भनिएको पनि छ ! अझ त्यस अघि नै सबैजसो दलका घोषणा पत्र, विधान र पारित प्रतिवेदनहरुमा सबैको लक्ष पनि समाजवाद नै रहिआएको छ ! तर विडम्बना ती कागजमै सिमित हुने अनि व्यवहारमा भने उही पुरानो मक्किएको र नेपालमा बारबार असफल भै देस अस्थीरता, अराजकता, अन्यौल र अकर्मण्यतामा फसेर विदेसी शोषण र हस्तक्षेपको सिकार बनाउँदै गरिबी, भोकमरी र पछौटेपनको आहालमा डुब्ने स्थिति बनेको छ ।

यसैको पछिल्लो परिणामस्वरूप अहिले नेकपाका प्रधानमन्त्री ओलीले आफ्नो दलको दुई तिहाई जति बहुमत भएको संसद विघटन गरेका छन् र देस पुनः द्वन्द्व र अराजकताको भुमरीमा फसेको छ । तरपनि यतिबेला सरकारदेखि सडकसम्म सबैका सबै राजनीतिक दल, संघसंस्था र व्यक्ती-व्यक्तित्व भनिनेहरु संसदीय मध्यावधि चुनाव गराएर होस् वा पुरानै संसद पुनर्स्थापना गरेर होस् ; उही संसद, संसदीय व्यवस्था र संसदवाद अर्थात् मार्क्सवादी समाजवादको गला घोट्ने वाद, विचार, विधि/बाटो, व्यवस्था र व्यक्तिकै पक्षमा छन् । विचित्रै लाग्छ कि अहिले सडकमा देखिएकाहरु चाहे ती संवैधानिक राजतन्त्रात्मक व्यवस्थाका पक्षधर होऊन् वा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका पक्षधर होऊन् अथवा मध्यावधी वा संसद पुनर्स्थापनाका पक्षधर होऊन्, ती सबै अन्ततः र सारत: उही नेपालमा असफल र अफापसिद्ध भैसकेको पुरानै संसदीय व्यवस्थाकै पृष्ठ र पक्षपोषक नै हुन् ! अझ पछिल्लो कालसम्म आइपुग्दा यो पुरानो पुँजीवादी प्रतिकृयावादी व्यवस्थाको रुपमा स्थापित यो संसदीय व्यवस्थामा धेरै नै विकृती र विसङ्गतिहरु बढ्ने र विकसित हुने गर्नाले यसको आजको चरित्र पूर्णत: निरंकुश, सर्वसत्तावादी र फासिवादी नै बन्न पुगेको छ ।

त्यसैको प्रतिफलस्वरुप नै यतिबेला देसले यो पछिल्लो अस्थिरता, अस्तब्यस्तता र सम्भावित विस्फोट वा विद्रोह बेहोर्न जाँदैछ । त्यसैले यस भीषण र भयावह अवस्थाबाट देस र जनतालाई बचाउनको लागि एउटा वैकल्पिक देसवादी र जनतावादी स्वच्छ क्रान्तिकारी व्यक्ती, शक्ति, सरकार, विधि/बाटो, विधायिका, विधान र व्यवस्थाको परम आवस्यकता खट्किरहेको छ । किनभने देसमा हालीमुहाली गर्ने र देस डुब्ने गराउने यिनै व्यक्ती, शक्ति, विधि/बाटो, विधाइका, विधान/संविधान व्यवस्था अर्थात् समग्रमा संसदवाद र संसदीय सत्ता नै हुन् ! त्यसैले यी सबै अहिले चरम विवाद र विरोधका बीचमा मत्र होइन, विस्फोट र विद्रोहको परिपक्व अवस्थामा समेत छन् । तथापि ती सबैको समुच्च विकल्प एउटा सच्चा देसवादी र जनतावादी समाजवाद हुनसक्ने र त्यसको स्थापना, विकास र कार्यान्वयन समेत गर्नसक्ने सुनौलो परिस्थिति देसमा सिर्जना भएको छ ! तर त्यस्तो कार्यभार पूरा गर्ने वैकल्पिक क्रान्तिकारी शक्ति र नेतृत्वको चरम खडेरी परेको अनुभूत भएको पीडादायक स्थिति छ ।

यद्यपि जनवादी समाजवादी वा बैज्ञानिक समाजवादी बाटो लिएका कतिपय शक्ति र व्यक्ती-व्यक्तित्वहरु जीवित नभएको होइन, तथापि तिनले सबै नजिकका मित्रशक्ति, संघसंस्था र संगठनहरुलाई विभिन्न किसिमले समेटेर एकीकृत र केन्द्रीकृत रुपमा मुख्य अवरोधक दुश्मन शक्ति विरुद्ध प्रहार केन्दृत गर्ने कुरामा स्पष्ट र धारिलो सोंच र सामर्थ्य हासिल गरेका छैनन् । तिनका मुख्य नेताहरुमा रहेका देस, काल र परिस्थिति अनुकूलको राजनीतिक कार्यदिशा, वर्गीय कार्यक्रम र व्यावहारिक कार्यान्वयनको अभावका अतिरिक्त उनीहरुमा रहेका संकीर्ण वा उदार, सुधारवादी वा स्वार्थी, कठमुल्लावादी वा अवसरवादी, अहंवादी वा व्यक्तिवादी अनि कायर वा दुस्साहसवादी सोंच, शैली र संस्कारजन्य कमीकमजोरीले गर्दा उनीहरुले त्यो सामर्थ्य प्राप्त गर्न नसकिरहेका हुन् ! अझ विचित्र विडम्बना के भैरहेछ भने यस्तो सुनौलो अवसरमा आफूलाई वैकल्पिक सत्ता, व्यवस्था र सरकारका हिमायती बताउने समाजवादी मात्र होइन, साम्यवादी कम्युनिस्ट शक्तिहरु नै यतिबेला कि त सुतिरहेका छन्, कि भने अन्यौलमा परिरहेका छन् वा हार-हरेस खाएर निरास, निष्क्रिय र निस्प्राण भैरहेका छन् ! यहाँसम्म कि २३ वाम दलीय कार्यगत एकताको मोर्चा मात्र होइन, चार दलीय कम्युनिस्ट पार्टी स्तरीय रणनीतिक संयुक्त मोर्चा नै बनाएर वैकल्पिक सत्ताको लागि लड्ने भन्ने बैज्ञानिक समाजवादीहरु त झन् किम् कर्तव्य विमूढ भएर कोही संघर्षको मैदान छोडेका जस्ता छन् भने कोही घुमाईफिराई ढिलोचाँडो यो वा ऊ तर्क, वितर्क र कुतर्क गरेर एउटा- एउटा बहाना बनाउँदै संसद् पुनर्स्थापनाका पक्षमा जांदैछन् जस्तो देखिएकोछ !

सिद्धान्त र विधान-संविधानमा समाजवाद/बैज्ञानिक समाजवाद लेख्ने वा देख्ने कम्युनिस्ट शक्तिहरु नै किन आज यसरी सडक, सदन, सरकार र सत्तामा रहेका वा नरहेका पनि चरम संसदवादी भएर धेरै पहिले विश्वस्तरमा र नेपालमै पनि पूरै प्रतिकृयावादी र दलाल प्रमाणित भैसकेका संसद, संसदीय सरकार, संसदीय व्यवस्था र संसदीय सत्ताका लागि रक्षाकवच बनिरहेका छन् ? दुखद आश्चर्यको कुरा भएको छ ! यसैगरी संसदीय सत्ताका यो वा ऊ गुटका हिजोका कट्टर विरोधीहरु जसले एक अर्कालाई नं एक दुश्मन जस्तो देखेर उग्रवादी र आतंककारी भन्ने वा दक्षिणपन्थी र प्रतिकृयावादी भन्नेहरु पनि किन आज यसरी एकले अर्कालाई बेहिचक अन्धाधुन्ध समर्थन गरिरहेका छन् र आपसमा प्रसंसाको पुल बाँधिरहेका छन् ? अनि हिजो एउटै आँत र एउटै पेट भएका तर समुद्री चरो भारण्ड जस्तो एक पेट दुई मुख भएका नेता, गुट र पार्टीहरु पनि आज किन यसरी आपसमा गाली गलौजको फोहोरी राजनीती गरेर राजनीतिक जगतलाई नै दुर्गन्धित र बदनाम गरिरहे छन् ? प्रश्न गम्भीर छ । जान वा अन्जान रुपमा यी सबै साम्राज्यवादी-विस्तारवादीहरुका षड्यन्त्र र चलखेलमा फसेका वा तिनका कोपभाजनका सिकार भएका त छैनन् ? गम्भीर आशंका गर्ने आधार तयार भएको छ !

यस्तो गम्भीर, संवेदनशील र खतरनाक स्थिति र अवस्थाको बोध गरी जिम्मेवारी बहन गर्नु-गराउनु पर्ने पाकापुराना, मार्क्सवादी सिद्धान्त र दर्शन सर्लक्कै खाएर पचाएका स्थापित नेता र तिनका पार्टी- संगठनहरुले नै आज केही पनि न गरिरहेको देख्दा उदेक लागेर आउँछ !
यती मात्र पनि होइन, वर्तमानको सही र क्रान्तिकारी वैकल्पिक व्यक्ति, शक्ति, सरकार, विधायिका, विधि/बाटो र व्यवस्थाबारे उहाँहरुलाई हामीले बारबार घच्घचाउँदा र ठोस्दा पनि पटक्कै सुन्न-मान्न पनि तयार नहुनु आश्चर्यको विषय बनेको छ ! जबकि नेपालमा बारम्बार दोहोरिने यसप्रकारको क्रोनिक समस्याको स्थायी र दीर्घकालीन समाधानको लागि वैकल्पिक शक्तिको रुपमा एक बृहत् क्रान्तिकारी संयुक्त मोर्चा, वैकल्पिक सरकारको रुपमा अन्तरिम राष्ट्रिय क्रान्तिकारी सरकार, वैकल्पिक विधायिकाको रुपमा सर्वोच्च अन्तरिम क्रान्तिकारी सभा (व्यवस्थापिका), वैकल्पिक विधि/ बाटोको रुपमा संयुक्त निर्णायक क्रान्तिकारी जनआन्दोलन र वैकल्पिक व्यवस्थाको रुपमा क्रान्तिकारी र राष्ट्रिय समाजवाद उन्मुख अग्रगामी अस्थायी-अन्तरिम क्रान्तिकारी व्यवस्था हुनसक्ने कुरा बारम्बार छलफल गरिरहिएको छ ।

उक्त वैकल्पिक अन्तरिम सर्वोच्च र सर्वशक्तिसम्पन्न सभा अर्थात् जनप्रतिनिधिसभा (व्यवस्थापिका/विधाइका) ले व्यापक आन्तरिक र बाह्य बहस, अन्तर्कृया र संघर्षका बीचबाट राष्ट्रिय क्रान्तिकारी समाजवादी संविधान निर्माण गरी देसको आगामी दिशा र दसाको सुनिश्चित गर्नेछ भन्ने हाम्रो भनाइ रहिआएको छ । तथापि यी समग्र प्रस्तावित विषय र विधिका बारेमा बृहद् बहस, विवाद र अन्तर्कृया गरेर यिनमा परिमार्जन र पूर्णता ल्याउन सकिने कुरा स्वत: स्वाभाविक र सहज नै छ । त्यसैले स्पष्ट छ कि यो अवस्थामा आज आफूलाई वामपन्थी, देसभक्त र क्रान्तिकारी बताउने परिचित र स्थापित व्यक्ति-व्यक्तित्व र नेतृत्वहरु र उनीहरुका शक्ति-संगठनहरुले आफ्नो अस्तित्व, व्यक्तित्व, नेतृत्व र वक्तृत्वलाई अग्रगामी निकास र नेपालको यसप्रकारको समस्याको स्थायी समाधानको लागि पूरजोरका साथ प्रयोग गर्नु पर्दछ भने ती मातहतका कमिटी, संघसंस्था, मंचमोर्चा र संगठनहरु तथा तिनका नेता-कार्यकर्ता र समर्थक-शुभचिन्तकहरुले सशक्त सुझाव र दवाव समेत दिनु पर्दछ । तर, सर्वाधिक दुखद विडम्बना यो भएको छ कि त्यसो गर्न यी परिचित र स्थापित भनिएका हस्ती व्यक्तिहरु अहिलेसम्म आँटै गरिरहेका छैनन् । तैपनि हामी सबै सच्चा क्रान्तिकारी शक्ति, व्यक्ती, संघसंस्था र संगठनहरुले पूर्ण जिम्मेवारीबोधका साथ अझै उहाँहरुलाई झक्झकाउने र आन्दोलनको लागि दह्रोगरी खुट्टा टेकाउन बल गर्ने गर्नु पर्दछ ! यदी कसै गरेपनि उचालेको कुकुरले मृग मार्ने सम्भावना देखिएनछ भने कुकुर बूढो र कमजोर भै सिकार गर्न असमर्थ भएको र त्यसो हुनु पनि स्वाभाविक नै भएको अन्तिम निष्कर्ष निकाली नयाँ र युवा वैकल्पिक व्यक्ति र शक्तिको सिर्जना र स्थापना गरेर अघि बढ्न हिम्मत गर्नैपर्ने हुन्छ ।

हेक्का रहोस्, त्यो अवस्थामा सबैजसो शक्ति र संस्थाहरुमा ठुल्ठुला विस्फोटहरु हुनेछन् र तिनमा ठूलो बगावत आउने छ । साथै तिनमा रहेका युवा क्रान्तिकारीहरुद्वारा आआफ्ना पार्टी-संगठन र तिनका नीति, नेतृत्व र नियतका विरुद्धमा ठूला विद्रोह हुनेछन् र एउटा असाधारण क्रान्तिकारी र राष्ट्रवादी ध्रुवीकरण हुनेछ । भनिन्छ- सानो ठूलो हुन्छ, कमजोर बलियो हुन्छ र अपरिचित र अस्थापित पनि समय र आन्दोलनका क्रममा परिचित, स्थापित र स्वीकृत हुन्छ ! यसैलाई हाम्रा जनजीवनका उखानरुपी संश्लेषणहरुमा भनिएको छ- मुढाको मुख झिंजाले पोल्छ, नपत्याउने खोलाले बगाउँछ, आदि; चेतना भया !?




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ