आइपिएलको उपाधिका लागि दिल्ली मुम्बईसंग भिड्दै, कुन टिममा कस्ता खेलाडी ?

2020-11-10

काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपिएल)मा पहिलो पटक फाइनलमा प्रवेश गरेको दिल्ली क्यापिटल्स मंगलबार राति (आज) मुम्बई इन्डियन्ससँग फाइनल उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ।

जारी आइपिएलमा दिल्ली कमजोर टिम नभए पनि मुम्बईसँग लगातार तीन खेलमा पराजित भएको छ। प्ले अफको पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको थियो। तर दिल्ली पनि दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै फाइनलमा उपाधिका लागि मुम्बईसँगको भेट पक्का गरेको हो।

जारी आइपिएलमा दिल्ली यस्तो टिम हो, जुन दुई सय रन माथिको लक्ष्य तोड्न पनि सक्छ। नराम्ररी पराजित हुन पनि सक्छ। यो आइपिएलमा दिल्लीले गरेको प्रदर्शनले पनि त्यही भन्छ। सन्तुलन हुँदा उच्च प्रदर्शन हुने, ब्याटिङमा दुई सय रन भन्दा माथिको लक्ष्य पनि पूरा गर्ने र ठूलो अन्तरले समेत हार्ने गरेको छ। लिग चरणको पाँच खेल बाँकी छँदै दिल्लीको १४ अंक थियो भने उसले मात्र दुई खेलमा हार ब्यहोरेको थियो। तर त्यसपछिका लगातार चार खेलमा हार्दा दिल्लीलाई प्लेअफमै पुग्न सकस पर्‍यो। तर अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै शीर्ष दुईमा परेर फाइनल प्रवेशको लागि मुम्बईसँग पहिलो क्वालिफायर खेलेको थियो। उक्त खेलमा दिल्ली फेरि मुम्बईसँग ठूलो अन्तरले हारेको थियो। यसकारण दिल्ली मुम्बईभन्दा कमजोर देखिदै आएको छ।

सर्वाधिक चार पटकको उपाधि विजेता मुम्बईलाई पराजित गर्दै दिल्ली उपाधि जितेर इतिहास बनाउन चाहन्छ। तर दिल्लीलाई सबैभन्दा ठूलो डर नै मुम्बई इन्डियन्सको ब्याटिङ हो। बलिङ पनि उत्तिकै किफायती छ।

पहिलो खेलमा पाँच विकेटले पराजित भएको दिल्ली दोस्रो खेलमा भने मुम्बईसँग ९ विकेटले हारेको थियो। क्वालिफायरमा पनि ५७ रनको फराकिलो हार ब्यहोरेको दिल्ली हारको बदला लिने लक्ष्यमा छ। तर मुम्बईमाथि जित निकाल्न दिल्लीलाई सजिलो भने छैन। लगातार तीन खेलमा हार बेहोर्दा नै दिल्लीका खेलाडीमा मानसिक रुपमा पनि दबाब छ। यो मानसिक दबाब मुम्बईको लागि भने एउटा कडी हो, जुन पाँचौंपटक आइपिएलको उपाधि जित्ने राम्रो आधार बन्न सक्छ।

दिल्लीले ब्याटिङमा राम्रो गर्न सके जित निकाल्न सक्छ। तर मुम्बईबिरुद्ध दिल्लीको ब्याटिङ लाइन हालसम्म चल्न सकेको छैन पहिलो खेलमा दिल्लीले १६२ रन बनाएको थियो। दोस्रो खेलमा भने ११० रन मात्रै बनायो। त्यस्तै, क्वालिफायरको खेलमा १४३ रन। यसकारण पनि दिल्ली हार्नुको मुख्य कारण ब्याटिङ नै चल्न नसक्नु हो भन्न सकिने आधार छ। दोस्रो क्वालिफायरमा हैदरावादविरुद्ध दिल्लीले ब्याटिङमा केही परिवर्तन गर्‍यो। ओपनर पृथ्वी शोलाई निकालेर सिमरन हिटम्यरलाई खेलायो। यस्तो गर्दा ओपनिङमा मार्कस स्टोइनिस र शिखर धवन आए। यो रणनीति दिल्लीको सफल पनि भयो। धवन र स्टोइनिसले ८६ रनको साझेदारी गर्दा सिमरनको प्रदर्शन तारिफयोग्य रह्यो। उनले २२ बलमा अविजित ४२ रन बनाए।

दिल्लीले फाइनलमा पनि यही सेटलाई मुम्बईविरुद्ध मैदानमा उतार्ने सम्भावना छ। यस्तो भएमा दिल्लीको ओपनिङमा शिखर धवन र मार्कस स्टोइनिसले गर्दा तेस्रो नम्बरमा कप्तान श्रेयस ऐयर आउने छन्। त्यसपछि सिमरन हिटम्यर, रिषव पन्त, अजिंक्या राहाने, अक्षर पटेलले फिनिसिङको भूमिका निभाउने छन्।

हेरेरै फर्किने भए सन्दीप
नेपालका सन्दीप लामिछानेका लागि आइपिएल अहिलेसम्मकै नरमाइलो प्रतियोगितामध्ये एक बन्यो। यसअघि डेब्यु आइपिएलमा सन्दीपले तीन खेल खेल्न पाएका थिए। त्यसपछि दोस्रो सिजन उनले ६ खेल खेले। यो पटक भने फाइनल खेलमात्रै बाँकी छ। तर सन्दीपको सम्भावना निकै कम छ।

फाइनलमा सन्दीपलाई खेलाउनका लागि उच्च लयमा रहेका कागिसो रबडा, मार्कस स्टोइनिस, सिमरन हिटम्यर र एनरिच नोर्ट्जेमध्ये एकलाई निकाल्नु पर्छ। मुख्य प्रशिक्षक रिक्की पोन्टिङ यस्तो जोखिम उठाउने अवस्थामा छैनन्। हैदरावादविरुद्ध खेलाएका बलरलाई नै फाइनलमा उतार्ने लक्ष्यमा पोन्टिङ हुनेछन्। तीव्र गतिको बलरको भूमिकामा कागिसो रबडा, एनरिच नोर्ट्जे र मार्कस स्टोइनिस हुनेछन्। स्पिनरमा रविचन्द्रन अश्विन, अक्षर पटेल र प्रविण दुबे हुनेछन्।

सन्दीप लामिछानेको लागि यो आइपिएलले नै आगामी अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगको भविष्य कोर्ने थियो। सन्दीपले पनि आइपिएल सुरु हुनुअघि ‘मेरो लागि यो आइपिएल महत्वपूर्ण हुनेछ’ भनेका थिए। सबैले सन्दीपले दिल्लीबाट सन्दीपले धेरै खेल खेल्न पाउँछन् भनेर अनुमान पनि थियो तर क्रिकेट विश्लेषकको मन जितेका उनले अष्ट्रेलियन प्रशिक्षक पोन्टिङ र टिमको विश्वास जित्न सन्दीपले सकेनन्। हुन त आइपिएल चलिरहेकै बेला लंका प्रिमियर लिगको ड्राफ्टबाट खेलाडी छनोट भयो। सन्दीप ड्राफ्टमा परे पनि उनलाई कुनै क्लबले अनुबन्धित गरेनन्। आइपिएलमा बेन्चमै बसेको प्रभाव भएको धेरैले विश्लेषण गरे पनि। डिसेम्बर १० तारिखबाट बिग बास लिग सुरु हुँदैछ। सन्दीपले यसअघि मेलबर्न स्टार्सबाट खेलेका थिए। तर यो पटक उनले बिग बास खेल्छन् या खेल्दैनन् निश्चित भएको छैन।

यता मुम्बई आइपिएलको बादशाह नै हो। पाँचौ पटक आइपिएलको उपाधि उचाल्ने लक्ष्यमा रहेको मुम्बई दिल्लीलाई पराजित गर्दै त्यो सपना पूरा गर्न चाहन्छ।

त्यसो त मुम्बईलाई रोक्न निकै गाह्रो छ। कप्तान रोहित शर्मा, क्विन्टन डि ककको जोडीले ओपनिङ थाल्दा, इशान किसान, सुर्यकुमार यादव, हार्दिक पाण्ड्या र केइरन पोलार्डको विष्फोटक ब्याटिङले दुई सय रन माथिको लक्ष्य दिन र पूरा गर्न सक्नेछ। मुम्बईको बलिङ पनि त्यत्तिकै राम्रो छ। जसप्रित बुमराह, ट्रेन्ट बोल्ट, राहुल चाहार, क्रुनाल पाण्ड्या, जेम्स पटिन्सन लगायतको किफायती बलिङ दिल्लीका ब्याट्सम्यानको लागि महंगो सावित हुन सक्छ।

फाइनलसम्मको यात्रा तय गर्दा मुम्बईलाई खासै कठिन परेन। राम्रा खेलाडीलाई विश्राम दिँदै आरामदायी तरिकाले खेलेको मुम्बई उपाधि उचाल्नेमा ढुक्क छ। तर दिल्लीलाई कमजोर सम्झिनु मुम्बईलाई महंगो सावित हुन सक्छ। दिल्ली भोकाएको बाघ हो। जितको लागि जस्तो कठिन चुनौती पनि पार गर्न तयार भएर बसेको छ। दिल्ली लयमा हुँदा जस्तोसुकै टिमलाई हराउन सक्ने केही उदाहरण समेत पेश गरिसकेको छ। पछिल्लो खेलमा दिल्लीले लय पक्डिएको थियो र त्यही उच्च मनोकांक्षा सहित मैदानमा उत्रिनेछ।

त्यसो त, मुम्बई इन्डियन्सका श्रीलंकन प्रशिक्षक महेला जयवर्दने जति कुल देखिन्छन् त्यति नै उत्कृष्ट खेल उनको टिमले देखाइरहेको हुन्छ। दिल्लीलाई लगातार चौथो खेलमा पराजित गर्दै पाँचौं पटक मुम्बई आइपिएलको उपाधि उचाल्न चाहन्छ। दिल्ली भने मुम्बईलाई हारको बदला लिदै आइपिएलको ऐतिहासिक उपाधि जित्ने लक्ष्यमा छ।


नेपाललाइभबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ